सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपाललाई ८० लाख डोज खोप बेच्ने रुसको प्रतिबद्धता

फाइल फोटो
फाइल फोटो
२०७८ वैशाख १६, ०९:४० खबर संवाददाता

काठमाडौँ — रुसले नेपाललाई ८० लाख डोज खोप किन्न दिने प्रतिबद्धता जनाएको छ।

आगामी डिसेम्बरसम्ममा ८० लाख डोज खोप किन्न दिने प्रतिबद्धता गरेको हो। स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठी र मस्कोबाट आएको उच्चस्तरीय टोलीबीच बुधबार भएको छलफलमा खोप बिक्रीको प्रतिबद्धता आएको हो। दुई पक्षबीच मूल्यको विषयमा भने सहमति भइसकेको छैन।

रुसबाट सरकार–सरकार (जीटूजी) प्रक्रियाबाट त्यहाँ उत्पादित खोप ‘स्पुतनिक–भी’ ल्याउने निर्णय गरेर सरकारले छलफल अघि बढाएको थियो। छलफलका क्रममा मन्त्री त्रिपाठीले ४० लाख डोज खोप तत्काल आवश्यक पर्ने जानकारी गराएका थिए।

रुससँग सहुलियतमा खोप उपलब्ध गराउन र अनुदानमा समेत दिन आग्रह गरिएको छ । रुसी खोप ल्याउने करिब–करिब तय भइसकेको छ। दुई–चार दिनमा यो विषयमा टुंगो लाग्ने मन्त्री त्रिपाठीले बताए। 

उनले अनुदानका लागि चिठी लेखिसकेको बताए। नेपालस्थित रुसी दूतावासका एक प्रतिनिधिले नेपालको चाहनाअनुसार रुसले पर्याप्त खोप निर्यात गर्न सक्ने बताए।

औषधि व्यवस्था विभागले वैशाख ७ गते आपत्कालीन प्रयोगका लागि रुसी खोपलाई स्वीकृति दिइसकेको छ। उक्त खोप नेपालमा आयात गर्न लोमस फर्मास्युटिकल्सले अनुमति पाएको छ। तर सरकारले भने जीटूजी प्रक्रियाबाटै खोप ल्याउने तयारी गरेको हो।
 

कमेन्ट लोड गर्नुस