सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीमा कोभिडका कारण दुई दाजुभाइको मृत्युपछि पूरै गाउँमा सन्त्रास, कन्ट्याक्ट् ट्रेसिङ्ग गर्नै जाँदैनन् स्वास्थ्यकर्मी

२०७८ वैशाख १०, १२:१४ खबर संवाददाता

धनगढीः डोटीको दिपायल सिलगढी नगरपालिका -१ घटालीस्थित एकै परिवारका २ दाजुभाइको कोरोनाले मृत्यु भएको छ। तर हालसम्म कन्ट्याक्ट् ट्रेसिङ्ग अर्थात सम्पर्क खोजी नगरिएको पाइएको छ।

गत वैशाख ७ गते भारतबाट फर्किएर होम क्वारेन्टिनमै बसेको अवस्थामा एक युवक (भाइ)को मृत्यु भएको थियो। २ हप्ताअगाडि उनी भारतको गुजरातबाट फर्किएका थिए। भारतमासँगै काम गरिरहेका ती युवकको आफ्नै दाजुको कोरोना संक्रमणले २ साताअघि भारतमै मृत्यु भएको थियो।

दाजुको मृत्युपछि घर फर्केका ती युवकको पनि कोरोनाकै कारण वैशाख ७ गते मृत्यु भएको हो। तर उनको मृत्यु कोरोनाकै कारण भएकोबारे आधिकारिक पुस्टि गरिएको छैन। ती युवकको मृत्यु भएको ४ दिन बित्दासमेत उनको सम्पर्कमा रहेका व्यक्तिहरुको कन्ट्याक्ट् ट्रेसिङ्ग  भने हालसम्म गरिएको छैन। 

दिपायल सिलगढी नगरपालिकाका प्रवक्ता कर्ण बिष्टले कसैलाई जानकारी नदिइ मृतक युवा गाउँ आएको र हाल मृत्यु भएपछि गाउँमा त्रास फैलिएको बताए। उनले भने, “चोर बाटो भएर घर आएका रहेछन्। कसैलाई थाहै भएन। बुझ्दै जाँदा सँगै रहेका दाजुको पनि कोरोनाकै भारतमा मृत्यु भएको रहेछ। उनी पनि संक्रमित भएर सोझै गाउँमै छिरेछन्।”

युवक मृत्युबारे स्वास्थ्य कार्यालय डोटी बेखबर जस्तै बनेको छ। स्वास्थ्य मन्त्रालयको परिपत्र अनुसार पछिल्लो समय मृतकको स्वाब परीक्षण गर्न छोडिएको छ। स्वास्थ्य कार्यालय डोटीका कोरोना फोकल पर्सन तेजविक्रम शाहीले मृतकको स्वाब परीक्षण नगरिएपनि कन्ट्याक्ट् ट्रेसिङ्ग  शुक्रबारदेखि गर्ने बताए।

डोटीको यो घटना प्रतिनिधी घटना मात्रै हो। पछिल्लो समय संक्रमित तथा कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको ट्राभल हिस्ट्री लिने, उनीहरुको सम्पर्कमा रहेकाहरुको कन्ट्याक्ट् ट्रेसिङ्ग समेत गर्न छोडिएको छ।

औपचारिक रुपमा मृत्युको खबर छैन।

कन्ट्याक्ट् ट्रेसिङ्ग कसरी होला?

कैलालीको गोदावरी ३ का ५० वर्षीय पुरुषको गत चैत ३० गते कोरोनाको कारण मृत्यु भएको थियो। फागुनको पहिलो साता भारतबाट फर्किएका उनीमा निमोनिया र दमसहित कडा खालको लक्षण देखिएको थियो। उनको मृत्यु भएको १ साता बितेपनि हालसम्म कन्ट्याक्ट् ट्रेसिङ्ग नगरेको पाइएको छ। 

गोदावरी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख वीरबहादुर कुँवरले आफुहरुलाई कुनै पनि निकायले जानकारी नगराएको बताउँदै सञ्चारमाध्यममा आएपछि मात्रै जानकारी पाएको बताए। तर ट्राभल हिस्ट्री अर्थात यात्रा विवरण लगायत विवरण आफुहरुलाई नआएपछि कन्ट्याक्ट् ट्रेसिङ्ग गर्न नसकेको उल्लेख गरे।

कोरोनाको दोस्रो लहर फैलिएपछि हालसम्म सुदूरपश्चिममा ४ जनाको मृत्यु भएको छ। तर हालसम्म कसैको पनि गम्भीरतापूर्वक कन्ट्याक्ट् ट्रेसिङ्ग नगरिएको पाइएको छ। स्वास्थ्य सुरक्षाका अन्य मापदण्डहरु समेत पालना नगरिएको हो। विश्व स्वास्थ्य संगठनले कोरोनाबाट जोगिन तथा कोरोनाको सम्पर्क विच्छेद गर्न सामाजिक दूरी, मास्कको प्रयोग, साबुनपानीले हात धुनुपर्ने, कन्ट्याक्ट् ट्रेसिङ्ग गर्नुपर्ने मापदण्ड बनाएको छ। सो मापदण्ड पालना सरकारी निकायबाटै हुन नसकेको हो। 

तर सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका निर्देशक डा. गुणराज अवस्थी त्यसलाई स्विकार्न तयार भएनन्। उनले हालसम्म कसैले पनि कन्ट्याक्ट टे«सिङ नगरिएको बारे गुनासो नआएको दाबी गरे। कन्ट्याक्ट टे«सिङ आफुहरुको नियमित कार्य रहेको भन्दै निर्देशक अवस्थीले सोही अनुसारको व्यवस्थापन गर्दै आएको जिकिर गरे।

कोरोनाको नयाँ भेरियन्ट अर्थात नयाँ नयाँ प्रकारसहित हाल नेपालमा कोरोनाको दोस्रो लहर तीव्र गतिमा फैलिइरहेको छ। बन्द कोठा वा हलमा हावाको माध्यमबाट पनि सजिलै सर्न सक्ने कोरोनाभाइरसबाट बच्न मास्क सामाजिक दूरी र साबुन पानीले हात धुने नियमको अनिवार्य पालना गर्नुको विकल्प नभएको विज्ञहरू बताउँछन्।

कमेन्ट लोड गर्नुस