सुदूर नेपाललाई विश्वसँग जोड्दै

कहिले हुन्छ एसईई र कक्षा १२ को परीक्षा ?

२०७८ वैशाख ९, ०७:२५ खबर संवाददाता

काठमाडौं : मन्त्रिपरिषद्को सोमवारको बैठकले कोरोना संक्रमणका कारण आगामी वैशाखभर मुख्य शहरी क्षेत्रका विद्यालयका कक्षा बन्द गर्ने निर्णय गरेको छ। 

यसैबीच, राष्ट्रिय परीक्षा बोर्डले १० कक्षाको माध्यमिक शिक्षा परीक्षा (एसईई) र १२ कक्षाको परीक्षा पूर्व निर्धारित कार्यतालिका अनुसार नै हुने जनाएको छ। एसईईको परीक्षा र १२ कक्षाको परीक्षा जेठमै गर्ने निर्णय बोर्डले यसअघि नै गरिसकेको छ।

बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले पूर्व निधारित कार्यतालिका अनुसार नै परीक्षा सञ्चालन गरिने उल्लेख गर्दै विद्यार्थीले पनि सोहीअनुसार तयारी गर्नुपर्नेमा जोड दिए।

सरकारले मुख्य शहरी क्षेत्रका २५ जिल्लामा मात्र भौतिक कक्षा बन्द गरेर वैकल्पिक विधिबाट पठनपाठन शुरू गरेको र अन्य जिल्लामा नियमित कक्षा सञ्चालन भइरहेकाले परीक्षा निर्धारित समयमै हुने उनले जानकारी दिए।

परीक्षा सञ्चालनका लागि आवश्यक तयारी समेत गरिएको उनले बताए। सरकारले अर्को कुनै निर्णय गरेबाहेक बोर्डको निर्णयमा परिवर्तन नहुने जनाइएको छ। 

गत वर्ष कोरोना भाइरसका कारण विद्यालयले गरेको आन्तरिक मूल्यांकनलाई आधार मानेर एसईईको परीक्षा सार्वजनिक गरिएको थियो। १२ कक्षाको परीक्षा बोर्डले नै सञ्चालन गरेको भन्दै गोरखापत्र दैनिकले खबर छापेको छ। 

कमेन्ट लोड गर्नुस