सुदूर नेपाललाई विश्वसँग जोड्दै

तराईका वनमा महुवाको महक, के छ विशेषता ? (फोटो फिचरसहित)

२०७८ वैशाख ७, ११:५९ लखन चौधरी

धनगढीः वसन्त ऋतुको हरयालीसँगै तराईका वनहरुमा महुवा फुलेका छन्।

गैरकाष्ठ तथा मझौला किसिमको रुख अन्तरगत पर्ने महुवाका बोटमा झुप्पा–झुप्पा रसिलो फूल फुलेका छन्।

यसैबीच महुवाको फूल संकलनको कार्य पनि भइरहेको छ। स्थानीय आदिवासी जनजातिहरु महुवाका फूल संकलन गरिरहेका छन्।

महुवाको फूललाई प्रशोधन गरि रक्सी बनाउँने प्रलचन रहिआएको थारु समुदायका मानिसहरु यतिबेला फूल संकलन गरिरहेका हुन्।

झरेको फूललाई संकलन गरि सुकाउने र आवश्यक परेको बेला त्यसलाई प्रशोधन गरि रक्सी बनाउने प्रचलन थारु समुदायमा रहिआएको हो।

महुवा शक्तिवर्धक जडीबुटीको रुपमा रहेको बताइन्छ। डिभिजन वन कार्यालय कैलालीका प्रमुख रामचन्द्र कँडेलका अनुसार महुवाको वैज्ञानिक नाम मधुका इन्दिका हो। जसको फूल र फलमा औषधीय गुण रहेको कँडेलको भनाइ छ।

महुवाको औषधीय गुणकै कारण सरक्षण पनि हुँदैआएको बताइन्छ। डिभिजन वन कार्यालय कैलालीका प्रमुख कँडेलले भने, “जनजाति समुदायमा महुवाको विशेष महत्व रहेको छ। जुनकारण वनमा भएपनि संरक्षण गरिनुका साथै आफ्नो खेतबारीमा पनि रोपेको पाइन्छ।” 

थारु समुदायमा महुवाको रक्सी अन्य रक्सीभन्दा शुद्ध, तेजिलो र तागतदिलो हुने गरेको बताइन्छ। खास पाहुनालाई स्वागतका लागि र घरका देवतालाई चढाउनका लागि पनि पहुवाको रक्सी थारु गाउँमा अनिवार्यजस्तै हुन्छ।

कैलालीको कैलारी गाउँपालिका ६ खरुवाखेराका स्थानीय सम्पत चौधरीले थारु समुदायमा महुवाको आफ्नै महत्व रहेको बताए। फूललाई प्रशोधन गरेर रक्सी बनाइने र फल (कलौझी)को तेल समेत निकाल्ने गरिएको बताए। 

चालु वर्षमा विगतको भन्दा कम फूल फुलेको बताइएको छ। कम फूल आएको र बाघको आतंकले पनि महुवा संकलन कार्य पनि कम भइरहेको स्थानीय बताउँछन्। 

लखन चौधरी दिनेश खबरका सम्पादक हुन्। उनले राजनीति, अपराध, आर्थिक, कला संस्कृति र समसामयिक विषयमा कलम चलाउँछन्।

कमेन्ट लोड गर्नुस