सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा पत्रकार कुट्ने र एफएफमा तोडफोड गर्नेहरु अझै पक्राउ परेनन्

२०७८ वैशाख ७, ०७:०९ खबर संवाददाता

धनगढीः कैलालीको लम्कीस्थित रेडियो रेड स्टार एफएममा तोडफोड गर्ने र पत्रकार कुट्नेलाई प्रहरीले अझैसम्म पक्राउ गर्न नसकेको हो।

घटना घटेको ४८ घण्टा बितेपनि हालसम्म प्रहरीले संलग्नलाई पक्राउ गर्न नसकेको हो।

चैत ५ गते साँझ लम्कीकै स्थानीय टेकराज कठायतसहितको ९ जनाको समूहले एफएममा प्रवेश गरि तोडफोड गर्नुका साथै प्रबन्ध निर्देशक वसन्त जैशी र समाचार प्रमुख मदन शाहीलाई कुटपिट गरेको थियो।

यसैबीच सो घटनाप्रति नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समिति, जिल्ला शाखा कैलाली र प्रेस युनियन कैलालीले विरोध जनाएको छ। समाचारका विषयमा विमति भए कानुनी बाटो हुँदाहुँदै पनि स्थानीय टेकराज कठायतसहित ९ जनाको समूहले गरेको संघातिक हमला निन्दनीय भएको भन्दै विरोध जनाएका छन्।

तर घटना घटेको ४८ घण्टा बितेपनि प्रशासनले ती समूहलाई कानुनी दायरामा ल्याउन नसकेको हो। 

पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश अध्यक्ष योगेश रावलले प्रहरी प्रशासनले घटनामा संलग्नलाई हालसम्म नियन्त्रणमा लिन नसक्नु प्रशासनको गैरजिम्मेवारीपन रहेको बताए। अविलम्ब नियन्त्रणमा लिएर कानुनी प्रक्रियामा लैजानुपर्ने उनको भनाइ थियो।

त्यस्तै, पत्रकार महासंघ कैलाली अध्यक्ष हिमाल जोशीले आफुहरु स्थलगत अनुगमन तथा स्थानीयसँग घटनाबारे जानकारी लिएको बताए।

स्थानीय एक सहकारीको निर्वाचनको क्रममा जैशी र कठायतबीच बेमेलको स्थिति सिर्जना भएको र सामाजिक सञ्जालमा लेखेकै विषयवस्तुमा विवाद सिर्जना भएको अध्यक्ष जोशी बताउँछन्। जुन विवादलाई लिएर सञ्चारमाध्यममै तोडफोड गरिनु निन्दनीय कार्य रहेकोले संलग्नलाई कानुनी दायरामा ल्याउनुपर्ने अध्यक्ष जोशीको जोड छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख तथा प्रहरी उपरीक्षक अनुपम समशेर जवराले घटनामा संलग्नहरुको खोजीकार्य जारी रहेको बताए। तर हालसम्म नियन्त्रणमा लिन नसकेको प्रहरी उपरीक्षक जवराको भनाइ छ।

सो समूहले आइतबार साँझ बाहिर आउनुपर्ने भन्दै एक्कासी एफएममा प्रवेश गरि प्रबन्ध निर्देशक जैशी र समाचार प्रमुख मदन शाहीलाई कुटपिट गर्नुका साथै तोडफोड गरेको थियो। 

प्रबन्ध निर्देशक जैशीको कान र हात खुट्टामा चोट लागेको बताइएको छ। उनकाे कोहलपुरमा उपचार भइरहेकाे छ।
 

कमेन्ट लोड गर्नुस