सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपालले मलेसियालाई ९ विकेटले हरायो

२०७८ वैशाख ६, ०६:४६ रासस

काठमाडौँ: त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजमा नेपालले मलेसियालाई ९ विकेटले पराजित गर्दै प्रतियोगितामा दोस्रो जित दर्ता गराएको छ। 

कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट मैदानमा आज भएको खेलमा कुशल भुर्तेलको अर्धशतकीय प्रहारमा नेपालले मलेसियालाई सहजै पराजित गरेको हो।

यसअघि शनिबार भएको पहिलो खेलमा नेपालले नेदरल्यान्ड्सलाई पराजित गरेको थियो।

दुई खेल खेलेको नेपाल ४ अङ्कका साथ शीर्ष स्थानमा रहेको छ। यता मलेसियाको भने यो लगातार दोस्रो हार हो।

हिजो भएको पहिलो खेलमा मलेसिया नेदरल्यान्ड्ससँग पराजित भएको थियो।

खेलमा मलेसियाले दिएको ११० रनको सामान्य लक्ष्य नेपालले १२ दशमलव १ ओभरमा एक विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍यो।

नेपालको जीतका कुशलले अविजित रहँदै ६१ रनको अर्धशतकीय इनिङ्स खेले। उनले ४१ बलमा ३ चौका र ५ छक्का प्रहार गर्दै ६१ रनको योगदान दिएका हुन्। 

त्यस्तै नेपालका अर्का ओपनर आसिफ शेखले ४२ रन जोडे।

उनले २९ बलमा ४ चौका र एक छक्का प्रहार गर्दै ४२ रन जोडेका हुन।

त्यस्तै उपकप्तान दिपेन्द्र सिंह ऐरी ६ रनमा अविजित रहे।

मलेसियाका लागि विरन्दीप सिंहले १ विकेट लिए।

यसअघि टस हारेर पहिले ब्याटिङ थालेको मलेसियाले १६ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै १०९ रनको योगफल बनाएको थियो।

मलेसियाका साद अजिजले सर्वाधिक २७ रनको योगदान दिए। उनले २४ बलमा ४ चौका र १ छक्का प्रहार गरेका थिए।

त्यस्तै शारभिन मुनियान्दीले २० तथा शाफिक शारिफले १५ रन जोड्नुबाहेक अन्य खेलाडीले दोहोरो अङ्क जोड्न सकेनन्।

मलेसियालाई सस्तैमा समेट्ने क्रममा नेपालका करण केसी एक्लैले ३ विकेट लिए भने सन्दीप लामिछानेले दुई, सोमपाल कामी, दीपेन्द्र सिंह ऐरी, शाहब आलम र कुशल मल्लले १÷१ विकेट लिए। नेपालले आफ्नो तेस्रो खेल भोलि नेदरल्याण्ड्ससँग खेल्नेछ। 

कमेन्ट लोड गर्नुस