सुदूर नेपाललाई विश्वसँग जोड्दै

तोरी उत्पादनमा वृद्धि

२०७८ वैशाख ५, ०३:१८ रासस

देउखुरी: गत वर्षका तुलनामा दाङमा यस वर्ष तोरीको उत्पादन बढेको छ। 

जिल्लामा यसवर्ष ५४.८६ प्रतिशत बढी तोरी उत्पादन भएको हो। कृषि ज्ञान केन्द्रका अनुसार सरकारले तेलहन बालीलाई प्रवद्र्धन गर्न थालेपछि तोरी खेतीतर्फ किसानको आकर्षण हुँदा उत्पादन समेत बढेको हो। गत वर्ष २० हजार १७८ मेट्रिक टन तोरी उत्पादन भएको थियो  भने यस वर्ष १८ हजार ६०० हेक्टर जमीनमा लगाइएको तोरी ३१ हजार २४८ मेट्रिक टन उत्पादन भएको केन्द्रले जनाएको छ। 

गत वर्षभन्दा यस वर्ष ११ हजार ७० मेट्रिक टन वढी तोरी उत्पादन भएको केन्द्रका सूचना प्रसार अधिकृत उमेशचन्द्र श्रेष्ठले जानकारी दिए। औसत प्रतिहेक्टर १० क्विन्टलसम्म उत्पादन हुने गर्दछ। “गत वर्ष प्रतिहेक्टर १० क्विन्टलका दरले उत्पादन भएकामा यस वर्ष बढेर प्रतिहेक्टर १६ क्विन्टलका दरले तोरी उत्पादन भएको छ,” उनले भने। 

गत वर्ष तोरी खेती भएको हिँउदे मौसममा अधिक वर्षा हुँदा अन्य बालीका उत्पादनमा कमी आएको थियो। यस वर्ष मौसममा अनुकूल तथा रासायनिक मलको पर्याप्तता मुख्य कारण भएको उनले जानकारी दिए। यस वर्ष स्थानीय तहले उन्नत जातको बीउबिजन वितरण गरिनु र समयमा पानी परेका कारण उत्पादनमा वृद्धि भएको रहेकाले गत वर्ष तोरी उत्पादन राम्रो भएको छ। तोरी उत्पादन राम्रो भएपछि यहाँका किसान खुसी भएका छन्।

गढवा गाउँपालिका–७ का विकास चौधरीले यस वर्ष १० क्विन्टल तोरी बिक्री गरिएको बताए। प्रतिक्विन्टल ११ हजार ५०० का दरले बिक्री गरेका उनले एक लाख १५ हजार आम्दानी गरेको जानकारी दिए। “तोरी राम्रो उत्पादन भयो”, उनले भने, “घरमा आवश्यक पर्ने राखेर बाँकी बिक्री गरेँ, यस वर्ष तोरीले राम्रो आम्दानी दिएको छ।” उनी जस्तै सोही गाउँका अन्य किसान पनि  तोरीको बजार मूल्य राम्रो पाएपछि औधी खुसी भएका छन्। तोरी बेच्नलाई कुनै समस्या नै भएन ग्राहक घरमै आएर खरीद गरेर लग्ने गरेकाले सजिलो भएको उनले बताए। 

जिल्लालाई खाने तेलका लागि आत्मनिर्भर बनाउन तोरी उत्पादन बढाउने उद्देश्यले तोरी जोनका रुपमा विकास गरिएको छ। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ (तोरी जोन) दाङले अनुदानमा बीउ वितरण गरेको थियो। जिल्लामा मूल बीउ उतपादन र  खेतीका लागि अनुदानमा तोरीको बीउ वितरण, सिँचाइ कुलो निर्माण, कृषकलाई कृषि औजार वितरण, विभिन्न तालीमलगायत कार्यक्रम सञ्चालन गरेको हो। 

परियोजना अन्तर्गत पश्चिम दाङका बबई, दङ्गीशरण र शान्तिनगर गाउँपालिका तथा तुलसीपुर उपमहानगरपालिका–१ र २ लाई समेटेर ‘तोरी जोन’ का रुपमा विकास भएको हो। जिल्ला तोरी उत्पादनका लागि उर्वर भूमि मानिन्छ। यहाँ उत्पादित तोरी बाहिरी जिल्लामा समेत निर्यात गर्ने गरिन्छ।

कमेन्ट लोड गर्नुस