सुदूर नेपाललाई विश्वसँग जोड्दै

घोडाघोडी ताल अतिक्रमणको चपेटामा, ताल पुरेर खेल मैदान बनाइँदै

२०७८ वैशाख ५, ११:४९ नारायण अवस्थी

कैलाली जिल्लाको घोडाघोडी नगरपालिकामा रहेको घोडाघोडी सिमसार क्षेत्रभित्र पर्ने टेडी ताल पुरेर खेल मैदानक बनाउन लागिएको भन्दै विरोध भएको छ।

विश्व रामसार क्षेत्रमा सूचिकृत घोडाघोडी सिमसार क्षेत्रमा मानवीय गतिविधि गर्न नपाइने भएपनि प्राकृतिक ताल पुरेर खोल मैदान बनाउन स्वयं जनप्रनिनिधि नै अग्रसर भएको आरोप लगाइएको छ। प्रदेश सरकारबाट योजना ल्याएर कैलाली जिल्ला निर्वाचन क्षेत्र ३ को ‘क’ बाट निर्वाचित प्रदेश सभा सदस्य अमरबहादुर साँवदले ताल पुरेर फुटबल मैदान बनाउन खोजेको आरोप लगाइएको हो। तर प्रदेश सभा सदस्य अमरबहादुर साँवदले भने टेडी तालमा आफुले कुनै योजना नल्याएको बताएका छन्।

कैलाली जिल्लाको घोडाघोडी नगरपालिकामा रहेको  घोडाघोडी ताल क्षेत्र २ हजार ५ सय ६३ हेक्टरमा फैलिएको छ। घोडाघोडी ताल विश्व रामसार क्षेत्रमा सुचिकृत प्राकृतिक ताल हो। तर सो ताल क्षेत्रमा रहेका तालहरुमध्ये टेडी तालमा फुटबल मैदान बनाउन लागिएको र तालको अस्तित्व नै समाप्त गर्न खोजिएको भन्दै विरोध भएको छ। घोडाघोडी नगरपालिकाका नगर प्रमुख ममताप्रसाद चौधरीले भने संरक्षित क्षेत्रमा मानवीय गतिविधि हुन नहुने बताएका छन्।

“स्थानीयले ताल पुर्न लागेको गुनासो गरेका छन्। टेडी ताल घोडाघोडी सिमसार क्षेत्रमा पर्छ। ताल पुरेर खेल मैदान बनाउने कार्यप्रति नगरपालिकाको ध्यानाकर्षण भएको छ। हामीले तालको संरक्षण गर्नुको विकल्प छैन। तालमा खेल मैदान बनाउने कार्यको समर्थन गर्न सकिदैन।” नगरप्रमुख चौधरीले दिनेशखबरलाई भने।

घोडाघोडी तालको पश्चिम सुन्दरपुर भालुफाँटामा रहेको टेडी ताल करिव डेढ विघा क्षेत्रफलमा फैलिएको छ। घोडाघोडी तालभन्दा करिव ५ सय मिटरको दुरीमा रहेको सो ताल पुरेर खेल मैदान बनाउन प्रदेश सभा सदस्य अमरबहादर साँवदले प्रदेश सरकारबाट योजना पारेको स्थानीयले बताएका छन्। तर सुन्दर सामुदायिक वनमा पर्ने सो टेडी तालमा खेल मैदान बनाउने कार्यको सामुदायिक वनका अध्यक्ष तुलसीराम सापकोटाले समेत विरोध गरेका छन्।

“कसैको इच्छा पलाएर खेल मैदान बनाउँछन् भने त्यो पुरा हुन दिइन्न। सामुदायिक वनसँग सल्लाह गरेर काम गरिएको होइन। ताल पुररेर खोल मैदान बनाउने कुरामा समुदायको विरोध छ।” अध्यक्ष सापकोटाले भने।

प्रदेश सभा सदस्य अमरबहादुर साँवदको घर नजिकै रहेको टेडी तालको दक्षिणतर्फको भागमा माटो समेत भरान गरेको देख्न सकिन्छ। स्थानीयले सिमसार र संरक्षित क्षेत्रभित्रको तालमा खेल मैदान बनाउन योजना हालेको भनेपनि प्रदेश सदस्य साँवदले भने तालको ठाउँमा खेल मैदान बनाउने कुनै योजना नै न रहेको बताएका छन्। 

तर तालको दक्षिणतर्फको गहिरो भागमा जमेको पानीमा डुबेर केहि वर्ष अगाडि दुई बालबालिका मृत्यु भएको कारण गहिरो भागलाई सम्याउन समुदायकै सल्लाहमा घोडाघोडी तालको पार्किङ बनमएको ठाँउको माटो ल्याएर भरान भने गरेको बताए।

“ताल पुर्ने मनसायले मैले कुनै पनि योजना ल्याएको छैन। तर पार्किङ बनाउने ठाँउबाट भने माटो ल्याएर गहिरो खाडल पुर्ने काम समुदायको आग्रहमा नै गरिएको हो। ताललाई व्यवस्थित बनाउने हिसाबले नै थोरै माटो हाल्ने काम गरिएको हो।”

घोडाघोडी संरक्षण क्षेत्र र सिमसार क्षेत्रमा मानविय गतिविधि शून्य हुनुपर्ने नियम रहेको बताइन्छ। तर घोडाघोडी क्षेत्रमा भने किन ताल पुर्ने काम भयो भनेर सार्वजनिक रुपमा सरोकारवाला निकायसँग समेत स्थानीयले जवाफ नपाएको बताएका छन्। तर सुख्खड सब–डिभिजन वन कार्यालयले भने सामुदायिक वन र समुदायको सहमतिमा तालको केहि भागमा माटो हाल्ने काम भएको बताएको छ। 
तर सब–डिभिजन प्रमुख समिर थापाले भने, “तालमा माटो हाल्ने काम भएको थाहा पाउने वित्तिकै हामीले सामुदायिक वनलाई स्पष्टीकरण सोधेका छौँ। उपभोक्ता समितिले तालमा थोरै माटो हाल्ने काम भएको तर खेल मैदान नै बनाउने काम नभएको जवाफ लेखेको छ।”

सुदूरपश्चिमको वन क्षेत्र विगतदेखि नै व्यक्तिगत र संस्थागत अतिक्रमणको चपेटामा परेको वन अधिकारीले बताउने गरेका छन्। पछिल्ला दिनहरुमा संस्थागत अतिक्रमण जताततै तीव्र हुँदा वन संरक्षणमा थप चुनौति थपिएको अधिकारीहरुको भनाइ छ।

घोडाघोडी क्षेत्रको टेडी ताललाई तालकै रुपमा संरक्षण गर्न सरोकारवाला सबैको ध्यान जानुपर्ने देखिन्छ। 


 

नारायण अवस्थी दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस