सुदूर नेपाललाई विश्वसँग जोड्दै

चौबीस घण्टे आकस्मिक सेवा तीन सातादेखि ठप्प

फाईल फोटो
फाईल फोटो । फोटो स्रोत ।
२०७८ वैशाख ४, ०८:४० रासस

दार्चुला: महाकाली नगरपालिका–९ का एक महिलालाई शुक्रबार सुत्केरी व्यथा लाग्यो।

सदरमुकाम खलङ्गामा बस्दै आएकि ती महिला व्यथा लागेपछि नजिकैको जिल्ला अस्पतालमा गइन।

महिलाको शल्यक्रिया गर्नुपर्ने देखियो तर जिल्ला अस्पताल दार्चुलामा एक जना पनि चिकित्सक थिएनन्।

चार चिकित्सकको दरबन्दी रहेको अस्पतालमा चिकित्सक नहुँदा व्यथा लागेका महिलालाई गोकुलेश्वर सिफारिस गरिएको हो।

उनलाइ महाकाली नगरपालिकाको एम्बुलेन्समार्फत गोकुलेश्वर अस्पताल पु¥याइएको थियो। यो त एक प्रतिनिधि घटना मात्रै हो।

उनि जस्तै दर्जनौँ गर्भवतीले अहिले जिल्ला अस्पताल पुगेर गोकुलेश्वर वा पिथौरागढ सिफारिस हुनुपर्ने बाध्यता छ।

अस्पतालमा बच्चा पाउन आउने गर्भवतीको जिल्लामै सुत्केरी हुन नसक्दा बिचल्ली भएको छ।

सहजरूपमा जिल्लामै हुने शल्यक्रियाका लागि गोकुलेश्वर जाँदा  छ हजार तिर्नुपरेको आफन्तजन बताउँछन्।

गर्भवतीका लागि भन्दै चौबीसै घण्टे आकस्मिक प्रसूति सेवा केन्द्र राखिएको तर जिल्ला अस्पतालको आकस्मिक प्रसूति केन्द्र तीन सातादेखि बन्द छ।

जिल्लाको मुख्य अस्पतालको स्वास्थ्य सेवा लथालिङ्ग हुँदा पनि सरोकारवाला निकाय भने उदासिन बनेको बिरामी बताउँछन्।

जिल्ला अस्पताल दार्चुलामा आकस्मिक सेवा हेर्दै आउनुभएका मेडिकल अधिकृत नवीनकिशोर मल्ल धनगढी र अस्पताल निमित्त प्रमुख एवं एमडिजीपि डा आर्दश लिम्बू काठमाडौँ तालिममा गएपछि आकस्मिक सेवा बन्द भएको छ।

शल्यक्रिया गर्नका लागि चिकित्सक चाहिन्छन् प्रसूति सेवा कार्यरत एक स्टाफ नर्सले भनिन, “हामीले त्यो गर्न सक्दैनाँै।”
 
चिकित्सक नहुँदा चैत दोस्रो सातादेखि अस्पतालमा शल्यक्रिया हुनसकेको छैन।

अस्पतालमा आउने गर्भवतीलाई गोकुलेश्वर पठाउने गरिएको उनको भनाइ छ।

अस्पताल हो तर सबै चिकित्सक एकैपटक तालिममा जाँदा अस्पतालको स्वास्थ्य सेवा नाजुक बनेको उनको भनाइ छ।

जिल्ला अस्पताल दार्चुलाका सूचना अधिकारी डम्मरदत्त भट्ट चिकित्सकहरूको तालिम परेका कारण जिल्ला बाहिर जानुपरेको बताए।

यस बीचमा बिरामी हेर्न गोकुलेश्वरबाट चिकित्सक मियाज अन्सारी एक साता जिल्ला अस्पतालमा काम गरेर फर्किएका हुन।

शुक्रबार र शनिबार अस्पतालमा चिकित्सक नै छैनन्। प्रदेश सरकारमार्फत खटाइएका डा देवेन्द्र नेगी आज बेलुकीसम्म आइपुग्ने अस्पतालले जनाएको छ।

“बिरामीको चाप बढी नै छ”, उनले भने, “हामीले सक्दो सेवा दिएका छौँ”, भट्टले भने।

अहिले अस्प्तालमा दैनिक ८० बढी बिरामी आउने गरेका छन्। पछिल्लो समय मौसममा आएको परिवर्तनका कारण रुघाखोकीका बिरामी बढी आउने गरेका छन्।

एक जनामात्रै चिकित्सक हुँदा बिरामीले अस्पतालमा घण्टौँ कुर्नपर्ने बाध्यता छ। पछिल्लो समय अस्पतालमा दक्ष जनशक्तिसमेत छैन।

दक्ष जनशक्ति नहुँदा गत मङ्सिरमा जडान गरिएको आइसीयू र भेन्टिलेटर प्रयोगमा आएको छैन । 

कमेन्ट लोड गर्नुस