सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीका ८ पालिका दमकलविहीन

२०७८ वैशाख ४, ०१:४० रासस

डोटी :  स्थानीय तह गठन भएको वर्षौं बितिसक्दासमेत यहाँका आठ वटा पालिकाले अहिलेसम्म दमकल किन्न सकेका छैनन् ।

सात गाउँपालिका र दुई नगरपालिकासहित नौ वटा स्थानीय तह रहेको डोटीमा आठ वटा स्थानीय तहसँग बारुणयन्त्र (दमकल) छैन ।

यहाँका पालिकामा रहेका बजारमा वा अन्य कुनै घरमा आगलागी हुँदा दमकल नभएका कारण निकै समस्या हुँदै आएको छ । पछिल्लो समय यहाँका सामुदायिक वनमा लागेको आगो शहर तथा बजारमा पस्न थालेपछि दमकलको अभाव खड्किन थालेको स्थानीयवासी बताउँछन् । 

गाउँमा सडक पु¥याउन डोर किन्ने कामदेखि आफ्ना लागि चढ्न प्रायः सबै पालिकाले गाडी किनेको भए पनि दमकल किन्न भने कसैले चासो देखाएका छैनन् । 

आगलागी नियन्त्रणका लागि दमकल आवश्यक चिज हो भन्ने जाने पनि त्यसको बेवास्ता गर्दै यहाँका स्थानीय तहले अहिलेसम्म नकिनेको बडिकेदार गाउँपालिका–१ का स्थानीयवासी रोजबहादुर कलेलले आरोप लगाए ।

उनले भने, “बाटो खन्न डोजर किन्ने, आफी चढ्न गाडी किन्ने आगो निभाउन दमकल नकिन्ने जनप्रतिनिधि छन्, कसलाई के भन्ने । अहिले जताततै आगलागी भएको छ, निभाउन गाह्रो भयो ।” 

जिल्लामा रहेका नौवटै स्थानीय तहमा यातायातको पहुँच भए पनि दिपायल सिलगढी नगरपालिकाबाहेक कुनै पनि स्थानीय तहसँग दमकल छैन ।

यस नगरपालिकामा दुई दमकल भए पनि एउटा वर्षांैदेखि प्रयोगविहीन अवस्थामा थन्किएको छ भने दुई वर्ष पहिले किनिएको एउटा दमकलले मात्रै काम चलाउँदै आएको छ । 

यातायातले स्थानीय तहका केन्द्र जोडे पनि अधिकांश गाउँबस्ती सडक पहुँच बाहिर रहेकाले दमकलको प्रयोग गर्नसमेत सम्भव नरहेको जनप्रतिनिधि बताउँछन् । 

भौगोलिक कठिनाइ र भएका सडकसमेत सञ्चालन नहुँदा दमकल खरीद गरे पनि प्रयोगमा चुनौती देखिने उनीहरुको भनाइ छ । 

डोटी जिल्लाका अधिकांश स्थानीय तहका वडा कार्यालय तथा बस्ती भिरपाखामा भएका कारण आगलागी हुँदा दमकलको प्रयोग गर्न सम्भव नरहेका कारण किन्न नसकिएको सुदूरपश्चिम गाउँपालिका महासङ्घ तथा जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले बताए ।

उनले भने,  “स्थानीय तहले दमकल किन्न नसक्ने भन्ने त होइन हाम्रा गाउँ बस्तीहरु सडक पहुँचबाट टाढा र भिर क्षेत्रमा भएकाले त्यहाँ दमकल लैजान समस्या हुने देखिएपछि नकिनिएको हो, तैपनि किन्ने प्रयास गर्दैछौँ ।” जनप्रतिनिधिले नचाहेर दमकल नकिनेको भन्ने आरोप गलत भएको उनको भनाइ छ । 

पछिल्लो समय यहाँका सामुदायिक वनका लागेको आगो नियन्त्रणका गर्नका लागि सबै पालिकासँग दमकल भएको भए निकै सहज हुने जोरायल गाउँपालिका–२ बुडरका वासिन्दा लोकबहादुर मल्लले बताए । 

उनले भने, “समुदायिक वनमा लागेको आगो केही दिन पहिले यहाँको राजमार्गसँगै जोडिएको भट्टी बजारमा आउँदा तीन घर पसल जलेर नष्ट भए, दमकल भएको भए निभाउन सजिलो हुने थियो, दमकल किन्न कसैले चासो दिदैनन्, आगलागी हुँदा बाल्टिनमा पानी बोकेर निभाउन जानुपर्ने अवस्था छ ।” 

जिल्लामा रहेका ३६० वटा सामूदायिक वन तथा केही सरकारी वनमा लागेको आगोले अहिले सयौँ हेक्टर जमीन तथा त्यसमा उम्रिएका जडीबुटी जलेर सखाप भएका छन् । यहाँका वन क्षेत्र नजिकका कतिपय घरमा समेत क्षति पुगेको छ । 

यतिमात्र नभई आगलागीका कारण वासस्थान नासिँदा वन्यजन्तु मानव बस्तीतर्फ आउने र मारिने क्रमसमेत निकै बढेको डिभिजनल वन कार्यालय डोटीले जनाएको छ । 

वन क्षेत्रमा अधिकांश आगलागीका घटना मानवीय कारण हुने गरेको डिभिजनल वन कार्यालयका प्रमुख शम्भु तिवारीको आरोप छ ।

आकस्मिकरुपमा हुँने आगलागी निभाउने यन्त्र नहुँदा आगलागीबाट जिल्लामा वर्षेनी ठूलो धनजनको क्षति हुने गरेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।  

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले स्थानीय तहले दमकल सञ्चालन गर्ने व्यवस्था गरे पनि हालसम्म यससम्बन्धी कार्यविधि नबनेका कारण दमकल खरीद प्रक्रिया अघि बढाउन नसकिएको बोगटान फुड्सिल गाउँपालिकाका अध्यक्ष कमलबहादुर गड्सिलाले गुनासो गरे ।

उनले भने, “आम नागरिक हामीलाई दमकल किनेन् भन्छन्, दमकल सञ्चालन गर्ने कार्यविधि नबन्दा हामीलाई पनि समस्या उत्पन्न भएको छ ।”
 

कमेन्ट लोड गर्नुस