सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरका बासुदेव, जो धनगढीबाट यात्रा सुरु गरेर नेपाली राष्ट्रिय क्रिकेट टीमको छनोटकर्तासम्म पुगे

२०७८ वैशाख २, ०१:३३ आशिष मल्ल

धनगढी: २० वर्षे उमेरमा भारतको बसाईंलाई बिट मादैं उनी २०५४ सालमा नेपाल फर्किए।

नेपालमै जन्मिएका भएपनि बासुदेव जोशी आफ्ना माइला बुवासँग भारतमै बसेर अध्ययन गर्थे। त्यतिबेला देखि नै भारतमा क्रिकेटको ‘क्रेज’ थियो। उनले पनि त्यहि हुँदा क्रिकेट सिक्ने र खेल्ने मौका पाएका थिए। 

तर डडेल्धुराको अजयमेरु गाउँपालिकाको रोल्ली गाउँ पुगेपछि उनका लागि क्रिकेट बिरानो बन्न पुग्यो। आफ्नो गाउँमा मात्रै नभएर डडेल्धुरामै क्रिकेट खेल्ने खेलाडी नभएको पाएपछि उनीमा नैराश्यता नआएको होइन। 

तर ‘पहाडको काप फोडी उम्रिन्छ पिपल’ भनेझै उनलाई डडेल्धुराको दुर्गमताले रोक्न सकेन्। उनी त्यसपछि अहिले ‘क्रिकेटको सहर’ भनेर चिनिएको धनगढी छिरे। ‘त्यतिबेला धनगढीमा क्रिकेटको क्रेज अहिलेको भन्दा बढी थियो। महिनामा एउटा प्रतियोगिता त भइरहन्थ्यो’ जोशी भन्छन्, ‘डडेल्धुरामा टीम नभएकाले म कैलाली आएर साथीहरुको सहयोगमा यहिँ क्रिकेट खेल्न थाले।’

कैलालीमा क्रिकेट सुरु गर्दा अमर शाही र रतन कठायतले सहयोग गरेको जोशी बताउँछन्। ‘त्यो बेला टप भिजन भन्ने कैलालीको टीम थियो। उत्कृष्ट बलिङ देखेर म पनि टीममा परेको थिए’ उनले भने, ‘हामीले त्यो बेला थुप्रै राष्ट्रिय स्तरका प्रतियोगिता जित्यौं।’

गरिबीले खेल्न छुटायो
कैलालीको टीमबाट राम्रो प्रदर्शन गरिरहेका बासुदेवलाई धनगढीमै बसेर खेल्न असहज भइरहेको थियो। एकातिर परिवारका जिम्मेवारी अर्को तिर आफ्नो रुचि। उनले परिवार रोजे र, आफ्नो गृह जिल्ला डडेल्धुरा फर्के। ‘घरको आर्थिक स्थिती कमजोर भएकाले म डडेल्धुरा फर्केर व्यवसाय गर्न थाले। त्यो बीचमा झण्डै २ वर्ष मैले क्रिकेट छाडे’ उनले भने। 

तर उनी क्रिकेटबाट भने टाढा हुन सकेनन्। डडेल्धुरामै खेलाडीहरुलाई वातावरण बनाउछु भनेर उनले प्रशिक्षण दिन थाले। त्यहिँ क्रममा २०६१ सालमा डडेल्धुरामा पृथ्वी केसीको नेतृत्वमा डडेल्धुरा क्रिकेट संघ गठन भयो।

त्यसपछि उनले २०६३ सालसम्म आफु पनि खेल्दै खेलाडीहरुलाई प्रशिक्षण दिन थाले। ‘२०६४ सालतिर म क्षेत्र नम्बर ६ बैतडीको चिफ सेलेक्टर भएँ। सोही क्रममा क्षेत्र नम्बर ६ को महिला क्रिकेट टोलीले गोल्ड मेडल जित्यो’ बासुदेवले भने, ‘त्यहिँ नै मेरो जीवनको पहिलो उपलब्धी थियो।’

त्यसपछि उनी २०७० सालमा नेपाली क्रिकेट टोलीको छनोटकर्ता भएका थिए। हालैमात्र नेपाली क्रिकेट संघ(क्यान)ले ४२ वर्षीय जोशीलाई पुनः राष्ट्रिय खेलाडी छनोट समितिमा चयन गरेको छ।

‘उत्कृष्ट खेलाडी छनोटका लागि सातै प्रदेशमा क्याम्पीयन चलाउन आवश्यक’
जोशी पुनः नेपाली टोली छनोट समितिमा आइसकेपछि नेपाली क्रिकेटको विकासमा लाग्ने प्रतिवद्धता गर्छन्।

त्यसका लागि सातै प्रदेशको क्रिकेट संघले क्याम्पीयन सञ्चालन गरेर नयाँ खेलाडी पहिचान गर्न आवश्यक रहेको उनी बताउँछन्। ‘सुदूरपश्चिमको परिवेश हेर्ने हो भने यहाँ खेलमैदानको अभाव विगतदेखि नै खड्किन्छ’ उनी भन्छन्, ‘सर्वप्रथम त तिनै तहका सरकारले दुर्गमका ठाउँसम्म खेलमैदान बनाउनुपर्छ। त्यहिँबाट नयाँ खेलाडी उत्पादन हुने हुन्।’

जोशीका अनुसार नेपाली क्रिकेट टोलीमध्ये अन्डर १९ को पुरुष टीम बलियो छ। थप अभ्यास गर्न सके त्यो टीम विश्वकप छनोटका लागि क्वालीफायर हुनसक्ने उनी बताउँछन्। ‘महिला टीमले पनि पछिल्लो पटक राम्रो पदर्शन गरिरहेको छ। तर जति हुनुपथ्र्यो त्यति भएन’ उनले भने, ‘हेर्नुस न थाइल्याडको टीमले हामीभन्दा पछि क्रिकेट खेल्न सुरु गरेको थियो तर ऊ कहाँ पुगीसक्यो हाम्रो टोलीको धेरै सुधार भएन्।’

तपाई सुदूरपश्चिमबाट राष्ट्रिय टोली छनोट समितिमा परेपछि यहाँका लागि के गर्नुहुन्छ भन्ने प्रश्नमा जोशी भन्छन्, ‘मेरा लागि सुदूरपश्चिमसँगै सबै प्रदेश समान हुन। तर यहाँको खेलकुद विकासका लागि आफुमा भएको ज्ञान म दिनसक्छु। यहाँका खेलाडीलाई उत्कृष्ट बनाउन भारतीय टीम बोलाएर अभ्यास गराउन सकिन्छ।’

यस्तै क्रिकेट महंगो खेल भएकाले यहाँका व्यवसायीहरुले सहयोग गरे क्रिकेट मात्र नभई सम्पूर्ण खेल जगतको विकास हुने उनको भनाई छ। 


 

आशिष मल्ल, दिनेश खबरका डेस्क सम्पादक हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस