सुदूर नेपाललाई विश्वसँग जोड्दै

२०७८ सालमा सुदूरपश्चिमको अर्थतन्त्र उकालो लाग्ला कि ओरालो

२०७८ वैशाख १, ०४:३६

वीरेन्द्र भट्ट, धनगढी: सुदूरपश्चिम प्रदेशमा आगामी आर्थिक वर्ष २०७८/ ७९ मा वित्तीय संकट भयावह हुने आंकलन अधिकारीहरूले गरेका छन्।

कोभिड–१९ को दोस्रो लहर सुरु भएसँगै सवै आर्थिक परिसुचकहरु कमजोर भएर वित्तीय संकट देखा पर्ने आंकलन गरिएको हो।

कोभिड–१९ कारण प्रदेश सरकारले अघिल्लो आर्थिक वर्ष २०७६/७७ मा ल्याएका अधिकांश कार्यक्रम कार्यान्वयन गर्न समस्या भएका बेला चालु आवका लागि विनियोजित पुँजीगत बजेट र कार्यक्रम कार्यान्वयन दोस्रो लहरको कोरोना भाइरसका कारण विगतदेखि नै हामीलाई च्याप्दै च्याप्दै गइरहेको सुदूरपश्चिम प्रदेशका पूर्व आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले बताए।

राजस्व संकलन दिनप्रतिदिन घट्दै गएका कारण चाहेर वा नचाहेर पनि आगामी आवको बजेटको सिलिङ्ग घटाउनुपर्ने बाध्यता हाम्रो सामु छ, उनले भने। अति आवश्यक क्षेत्रहरुको गहिरो अध्ययन गरेर मात्र आगामी बजेट ल्याउनुपर्नेमा पुर्व मन्त्री बोहराको सुझाव छ । राजस्व संकलन नै अपेक्षाकृत नदेखिएपछि वित्तीय संकट त आउने नै भयो, अर्थ–विश्लेषक रामबहादुर बुढाऐरले भने।

गत आर्थिक वर्षको तुलनामा प्रदेशको आर्थिक वृद्धिदर प्रतिशतमा थोरै वृद्धि भएपनि वित्तीय श्रोत अभावका कारण त्यसको असर विकास निर्माणमा परेको र आगामी दिनमा थप समस्याको सामना गर्नुपर्ने पूर्व मन्त्री बोहराको भनाई छ।

उनका अनुसार गत आर्थिक वर्ष प्रदेशको आर्थिक वृद्धिदर ४ दशमलव शुन्य ७ प्रतिशत थियो भने त्यसलाई बढाएर चालु आवका लागि हामीले ७ प्रतिशत पुर्‍याउने लक्ष्य निर्धारण गरेपनि पहिलो चरणको कोभिडको त्रास कायमै रहनु र अघिल्लो वर्षको भन्दा छिमेकी मुलुक भारतमा दोस्रो लहरको संक्रमितको संख्या दिनप्रतिदिन बढ्दै त्यसको असर नेपालमा पनि देखिदै गएकाले लक्ष्यअनुसार आर्थिक वृद्धि हुने अवस्था देखिदैन्।

समयमै सावधानी र स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर बजेट नल्याउने हो भने बेरोजगारी समस्या बढ्नुका साथै बैंकबाट ऋण पाउन समेत धौधौ पर्ने बताउँदै पुर्व मन्त्री बोहराले आगामी आवका लागि ३० देखि ३५ प्रतिशत वित्तीय श्रोत नै घटेर आउने भएकाले स्वभाविक रुपमा बजेट त घट्छ नै।

वित्तीय श्रोत नै नभएपछि कसरी हाम्रो अर्थतन्त्र माथि उठ्छ ? उनको प्रश्न छ। त्यसकारण मानव अस्थित्वका लागि भएपनि आगामी बजेट स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर ल्याइनुपर्छ, उनले भने।

प्रदेश सरकारले तीनवटा बजेट प्रस्तुत गरिसकेको अवस्थामा जनताले त्यसको खासै अनुभुति गर्न नपाएको भन्दै अर्थविद् शिवहरी मुडभरीले जनताका आवश्यकतालाई मध्यनजर गरी सन्तुलित र गुणस्तरीय बजेट ल्याउनुपर्नेमा जोड दिए। दक्षिण अर्थात भारतबाट नेपालमा फैलिएको कोरोना भाइरसको न्युनिकरणका लागि गत वर्षजस्तो गल्ती पुनः यसपाली नदोहोरियोस भन्ने विषयलाई केन्द्रमा राखि आगामी बजेट निर्माण गर्नुपर्ने उनको सुझाव छ।

कोभिडकालमा हाम्रो स्वास्थ्य सेवामा निकै सुधार भएको बताउँदै स्वास्थ्य क्षेत्र त्यसमा पनि हरेक व्यक्तिको सहज रुपमा स्वास्थ्य परिक्षण गर्न मिल्ने गरी किट अभाव कहिकतैबाट हुनुहुँदैन, उनले भने।

कमेन्ट लोड गर्नुस