सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिम सरकारले ४० प्रतिशत आकार घटाएर बजेट ल्याउँदै

२०७७ चैत्र ३१, ११:४२ कमल सावद

धनगढी: सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सोमबार आगामी आर्थिक वर्षको बजेट सम्बन्धी छलफल चल्दै थियो।

प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रीको जिम्मेवारी समेत सम्मालेका मुख्यमन्त्री त्रिलोचन भटट् बजेट सम्बन्धी छलफलमा व्यस्त थिए। मुख्यमन्त्रीसहित बजेट तयार गर्ने मुख्य जिम्मेवारी रहेको आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव रघुराम बिष्ट, मन्त्रालयका उप–सचिव निर्मल ढकाल लगायतले आगामी बजेटकाे आकारलगायतबारे गृहकार्यमा थिए।

उनीहरुले आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेटको राजश्व नीतिका बारेमा छलफल थालेका हुन्। प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयका उप–सचिज निर्मल ढकालले भने, “हामी नयाँ बजेटको बारेमा छलफलमा छौ। मुख्यमन्त्रीसँग छलफल थियो।”

सुदूरपश्चिम प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेटको आकार घटेर आउने देखिएको छ। प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि बजेट ल्याउन छलफल थालेको बेला बजेट घटेर आउने अनुमान गरिएको हो। 

आगामी आर्थिक वर्षका लागि प्रदेश सरकारले स्रोत जुटाउन नसक्दा र चालु आर्थिक वर्षमा विनियोजित बजेट मध्ये अधिकांश खर्च हुने देखिएकाले आगामी आर्थिक वर्षको बजेट झण्डै १३ अर्बले घट्ने देखिएको हो। प्रदेश सरकार आगामी आर्थिक वर्षको बजेटका लागि आन्तरिक गृहकार्यमा लागेको छ।

प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याउने तयारीमा लागेका बेला बजेटको आकार भने चालु आर्थिक वर्षको भन्दा सानो हुने देखिएको छ। चालु आर्थिक वर्षमा ३३ अर्ब ३८ करोड १३ लाख ४८ हजार रुपैयाँ बराबरको बजेट प्रदेश सरकारले ल्याएको थियो। तर आगमी आर्थिक वर्षमा झण्डै ४० प्रतिशत घटाएर २० अर्बको बजेट मात्रै ल्याउने तयारी थालेको हो। उप–सचिव निर्मल ढकालले भने, “चालु आर्थिक वर्षमा ३३ अर्बको बजेट ल्याएका छौ। तर आगामी आर्थिक वर्षको बजेटको अंक भन्न सकिदैन, २०/२१ अर्बको हुन सक्छ। तर हामी गृहकार्यमै छौ।”

प्रदेश सरकारको बजेटका स्रोतहरु कम हनु र चालु आर्थिक वर्षमा सञ्चालन भएका कार्यक्रमहरु पूण कार्यान्वयन हुने देखिएकाले आगामी आर्थिक वर्षको बजेटको आकार सानो हुने देखिएको हो। आन्तरिक आय, संघीय सरकारको वित्तीय अनुदान, सशर्त अनुदान, राजश्व बाँडफाँट लगायतबाट समेत कम मात्र रकम जम्मा हुने देखिएको बताइएको छ।

मन्त्रालयका सचिव रघुराम बिष्टले मुख्यमन्त्री त्रिलोचन भट्टसंग नयाँ बजेटको बिषयमा छलफलमा रहेको बताए। सामाजिक विकास मन्त्रालयको समेत सचिव रहेका उनले आर्थिक मामिला तथा योजना मन्त्रालयमा नयाँ सचिव आउने तयारीमा रहेको बताए। 

चालु आर्थिक वर्षमा १४ अर्ब १८ करोड ७८ लाख र पूँजीगततर्फ १६ अर्ब ७५ करोड ८४ लाख बजेट विनियोजन गरिएको थियो। प्रदेश सरकार मातहतका नयाँ कार्यालयहरु र जनशक्ति समेत थपिएकाले आगामी आर्थिक वर्षमा समेत चालु खर्चमा ठूलो रकम खर्च हुने आँकलन गरिएको छ।। 
 

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस