सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिम राजधानी कपको उपाधि वनदेवी युवा क्लबलाई

२०७७ चैत्र २८, ०८:५६ खबर संवाददाता

कैलालीको अत्तरियामा भएको जिआईसी सुदूरपश्चिम राजधानी कप फुटबल प्रतियोगिताको उपाधि वनदेवी युवा क्लबले जितेको छ।

पिएफए स्पोर्टस क्लब अत्तरियाको आयोजनामा भएको दोस्रो संस्करणको सुदूरपश्चिम राजधानी कप फुटबल प्रतियोगिताको उपाधि अत्तरियाकै वनदेवी युवा क्लबले जितेको हो।

शनिबार अत्तरियामा भएको फाईनल खेलमा वनदेवी युवा क्लबले माउण्ट एभरेष्ट युवा क्लबलाई १–० ले हराएको हो। खेलको निर्णायक एक मात्रै गोल चेतमान कडायतले गरे। पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएकोमा दोस्रो हाफको ३ औं मिनेटमा चेतमानले गोल गरेका थिए। उपाधि जिताउन गोल गरेका चेतमान फाईनलका म्यान अफ द म्याच भए। उनले नगद २ हजारसहित ट्रफी र मेडल प्राप्त गरे।

वनदेवी युवा क्लबले उपाधिसँग नगद ४ लाख सहित ट्रफी र मेडल प्राप्त गरेको छ। उपविजेता भएको माउण्ट एभरेष्ट युवा क्लबले नगद २ लाख सहित ट्रफी र मेडल प्राप्त गरेको छ। प्रतियोगिताका उत्कृष्ट खेलाडी वनदेवी युवा क्लबका दिपेन्द्र मलासी भए। उनले नगद १५ हजार सहित ट्रफी र मेडल प्राप्त गरे। 

यस्तै प्रतियोगितामा वनदेवी युवा क्लबका धनवहादुर थापा उत्कृष्ट रक्षक, वनदेवीकै टेकेन्द्र थापा उत्कृष्ट गोलरक्षक, वनदेवी युवा क्लबकै तेतमान कडायत उत्कृष्ट फरवार्ड, वनदेवीकै नरेन्द्र रावत उदयमान खेलाडी र माउण्ट एभरेष्ट युवा क्लबका गणेश बुढाथोकी उत्कृष्ट मिडफिल्डर भए। विभिन्न विधाहरुका उत्कृष्ट खेलाडीहरुले जनही समान १०-१० हजार रुपैया सहित ट्रफी र मेडल प्राप्त गरे।

प्रतियोगिताका विजयी खेलाडीहरुलाई एक कार्यक्रमका बीच पुरस्कार वितरण गरिएको छ। आयोजक पिएफए स्पोर्टस्  क्लबका अध्यक्ष योगेश भट्टको अध्यक्षतामा भएको समापन कार्यक्रमका प्रमुख अतिथि सुदुरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदी रहेका थिए। कार्यक्रममा सुदुरपश्चिम प्रदेश खेलकुद परिषद्का सदस्य सचिव दिपकबहादुर सिंह, अखिल नेपाल फुटबल संघका महासचिव ईन्द्रमान तुलाधर, किर्तिमानी खेलाडी दिपक बिष्ट लगायतले विजयी खेलाडीहरुलाई पुरस्कार वितरण गरेका थिए। 

गोदावरी नगरपालिका वडा नम्बर ३ मा रहेको मालिका खेल मैदानमा भएको प्रतियोगितामा १२ ओटा टिमको सहभागिता रहेको थियो। 

सुदुरपश्चिम प्रदेश सरकारले प्रदेशको स्थायी राजधानी गोदावरी घोषणा भएपछि राजधानी कार्यान्वयनको लागि दबाब सिर्जना गर्नका लागि सुदुरपश्चिम राजधानी कप दुई बर्षदेखि आयोजना हुदैं आएको छ। दोस्रो संस्करणको सुदुरपश्चिम राजधानी कपलाई जनरल ईन्सुरेन्स कम्पनी नेपालले मुख्य प्रायोजन गरेको थियो। 
 

कमेन्ट लोड गर्नुस