सुदूर नेपाललाई विश्वसँग जोड्दै

बसपार्कसहित धनगढीको मुख्य बजारमा चोरहरुको बिगबिगी

२०७७ चैत्र २७, ०९:२८ नारायण अवस्थी

धनगढीः सुदूरपश्चिमको अस्थायी समेत रहेको धनगढी बसपार्कमा दिन दहाडै चोरीका घटनामा वृद्धि भएको यात्रुहरुले गुनासो गरेका छन्। 

धनगढी बसपार्कमा यात्रुहरुका झोला, मोटरसाइकल, मोबाइल, झोला तथा खल्तीमा भएको नगद तथा जिन्सी सामान एकाएक गायब हुने गरेको पिडितहरुले बताएका छन्। 

गत चैत २४ गते पनि धनगढी बसपार्कबाट आफ्ना आफन्तको झोलाबाट अढाइ तोला सुनको गरगहना चोरी भएको कञ्चनपुरको कृष्णपुर घरभएका धर्मबहादुर सिंह बताउँछन्।

“बसभित्र झोला राखेर अन्य सामान राख्दा राख्दै दिउँसै झोलामा रहेको अढाई तोला सुनको गहना चोरी भो,” सिंहले भने, “त्यो भन्दा केहि दिन पहिले पनि झोलाबाट एक तोला सुन चोरी भएको थाहा भयो। केहि दिन पहिला एकजनालाई झोला चोर्दै गरेको समातिएको रहेछ।” 

धनगढी बजार र बसपार्क क्षेत्रमा चोरहरुको बिगबिगी बढेको भन्दै त्यस क्षेत्रका सर्वसाधारणले चिन्ता जनाउदै प्रहरीप्रति आक्रोश व्यक्त गरेका छन्। 

धनगढी बसपार्कबाट दर्जनौँ बस व्यवसायी समितिले प्रदेश लगायत देशका विभिन्न सहरमा सिधा बस सेवा सञ्चालन गर्दै आएका छन्। तर यात्रुको सामानको सुरक्षा गर्ने कुरामा भने व्यवसायी समेत उदासीन रहेको गुनासो गरिएको छ।

प्रहरी निगरानीको अभाव र बस व्यवसायीको लापरवाहीले दैनिक चोरीका घटनामा वृद्धि भइरहेको भएपनि नियन्त्रणका प्रयास भने नभएको पिडित यात्रुहरुले बताउने गरेका छन्।

तर बस व्यवसायी तथा प्रहरीले भने भिडभाड र यात्रुको लापरवाहीले समेत चोरीका घटनामा वृद्धि भइरहेको र नियन्त्रणका लागि बसपार्कमा निरन्तर प्रहरी निगरानी हुने गरेको बताइएको छ। 

धनगढी बसपार्कबाट सुदूरपश्चिमका सबै जिल्लासहित काठमाडौँ लगायतका प्रमुख सहरहरुका लागि दैनिक सयभन्दा बढी बस छुट्ने र आउने गरेका छन्। 

प्रदेशकै निकै व्यस्त बसपार्क भएरपनि क्षेत्रफल निकै सानो हुँदा बसपार्क व्यवस्थापनमा समस्या हुने गरेको र चोरीका घटनामा आफूहरु पनि पिडित रहेको व्यवसायीहरुले बताएका छन्। 

चोरीमा संलग्नहरुको निगरानी र पहिचान गर्न बसपार्कमा पर्याप्त उज्यालो, सीसीटीभी क्यामरा जडान नहुँदा समस्या भइरहेको व्यवसायीहरुले बताएका छन्।

साथै बसपार्कमा प्रहरी निगरानी हुन नसक्दा र नगरपालिकाले बत्ती जडान नगर्दा चोरीका घटनामा वृद्धि भएको सुन्दर सुदूरपश्चिम यातायात प्रालिका अध्यक्ष पदम सापकोटा बताउछन्।

धनगढी बसपार्कमा निकै भिडभाड हुने भएको कारण चोरीको घटना हुने गरेको प्रहरीको बुझाइ छ। बसपार्क क्षेत्रमा हुने चोरी र अन्य अपराधिक घटनाको निरन्तर  निगरानी हुने गरेको भएपनि कहिलेकाही व्यक्तिको असावधानीले समेत चारी गर्नेहरुलाई अवसर मिल्ने गरेको प्रहरीले दाबी गरेको छ। 

“बसपार्क क्षेत्रमा अस्थायी प्रहरी पोस्ट समेत रहेको र सो क्षेत्रमा वडा प्रहरी कार्यालय र जिल्ला प्रहरीबाट समेत सादा पोषाकमा प्रहरी खटाएर निगरानी हुने गरेको छ,” कैलाली प्रहरी सह प्रवक्ता प्रहरी निरीक्षक हिक्मत थापाले भने, “बसपार्कमा चोरी भएका घटनाको उजुरी आउने गरेको र थुप्रै घटनामा प्रहरी अनुसन्धान सफल भएर दोषीहरु समातेका छौँ।”

कैलालीमा चालु आर्थिक वर्षमा ५३ चोरी सम्बन्धीका घटना उजुरी प्राप्त भएको प्रहरीले बताएको छ। जसमध्ये आधा दर्जन चोरीका घटना ठूला रहेका छन्।

ठूला चोरीका घटनामा लाखौँको नगद र जिन्सी सामानको चोरी भएको प्रहरीले जनाएको छ। साना चोरीका मुद्दामा प्रहरीले सफलता हासिल गरेको भएपनि ठूला घटनामा भने अझै प्रगति हुन सकेको छैन्।
 

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस