सुदूर नेपाललाई विश्वसँग जोड्दै

यसैगरि दौडिनेछन् धनगढीवासी आउने शनिबार बिहान सबेरै

'अब धनगढी दौडिन्छ'

फाइल फोटो, काठमाडौँमा सन् २०२० ज्यानुवरी १ तारिखमा आयोजित दौडका सहभागीहरू
फाइल फोटो, काठमाडौँमा सन् २०२० ज्यानुवरी १ तारिखमा आयोजित दौडका सहभागीहरू । फोटो स्रोत ।
२०७७ चैत्र २६, ११:३५ नारायण अवस्थी

धनगढीः प्राय: विहान अबेरसम्म ओछ्यानमा गुटमुटिएर सुत्न चाहने धनगढीका धेरै युवायुवती र अन्य उमेर समूहका मानिस आउने चैत २८ गते शनिबार बिहान भने सिरकभित्र गुटमुटिएको हुने छैनन्।

शनिबार विहानै धनगढीवासी सडकमा दौडि रहेका देखिने छन्। यो दौडिने अवसर भने धनगढी जेसीजले जुटाउन लागेको हो। नेपाली नयाँ वर्ष विसं २०७८ सालको पूर्वसन्ध्यामा धनगढी जेसीजले चार विभिन्न विधामा नगरवासीलाई बिहान ६ बजे नै दौडाउने तयारी गरेको हो।

धनगढी जेसीजका अध्यक्ष कमलराज पनेरुले स्वास्थ्यका लागि दौडिनु लाभदायक हुने भएकोले नयाँ वर्षको पूर्वसन्ध्यामा नगरवासीलाई दौडाएर हरेक दिन बिहान दौडिन उत्प्रेरणा दिन खोजेको दिनेशखबरलाई बताए।

नवजीवन सहकारी धनगढी हाफ म्याराथनको आयोजक रहेको धनगढी जेसीजले "अब धनगढी दौडिन्छ” नाराका साथ सातौँ संस्करणमा विभिन्न चार विधामा दौड प्रतियोगिता आयोजना गर्ने बताएको छ।

हाफ म्याराथनसँगै कर्पोरेट मिडिया तर्फ ५ किलोमिटर र महिला तर्फ समेत अलग्गै ५ किलोमिटर दौड हुने बताइएको छ। ह्विल चेयर रेस समेत ५ किलोमिटरको हुने आयोजक संस्था धनगढी जेसीजले जनाएको छ।

पुरस्कारै पुरस्कार

हाफ म्याराथन तर्फ विजेता मध्ये प्रथम हुनेले ५५ हजार ५ सय ५५, दोस्रो र तेस्रो हुनेले क्रमशः ३३ हजार ३ सय ३३ र २२ हजार २ सय २२ नगद सहित प्रमाणपत्र प्रदान गरिने छ।

कर्पोरेट मिडिया तर्फ प्रथम हुने धावकले ५ हजार, दोस्रोले ३ हजार र तेस्रोले  २ हजार नगद सहित प्रमाणपत्र पाउने छन्।

महिला तर्फ भने प्रथम हुने धावकले १५ हजार र दोस्रो त तेस्रोले क्रमशः १० हजार र ५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन्।

ह्विल चेयर दौडका हरेक सहभागीले पुरस्कार र प्रमाणपत्र प्राप्त गर्नेछन्।

यो वर्ष दौडमा सहभागी मध्ये गोलाप्रथा द्वारा १ जनालाई ४३ इन्चको टेलिभिजन उपहार दिने व्यवस्था समेत मिलाइएको धनगढी जेसीजका वर्ष २०२१ का अध्यक्ष कमलराज पनेरुले दिनेशखबरको नागरिक सवालमा बताएका छन्।

सहभागी हुन चाहने जो कोहिले नगद २ सय शुल्कमा जेसीजले उपलब्ध गराएको सहभागी फाराम भर्न सक्ने र एक टि–सर्ट जेसिजले नै उपलब्ध गराउने बताइएको छ।

स्वस्थ रहन हरेक दिन दौडिने बानीको विकास होस् भन्ने हेतुले धनगढी जेसीजले हरेक वर्ष नयाँ वर्षको पहिलो दिन बैशाख १ गते आयोजना गर्ने दौड प्रतियोगिता यो वर्ष भने यो पटक चैत २८ गते शनिबार गर्ने जनाएको छ।

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस