मीना र ऋतुको झगडा मिलाउन कैलाली प्रहरीलाई समेत सास्ती
धनगढी- उनलाई अत्तरियाबाट नेपालगञ्ज पुर्याइयो। फर्किँदा चिसापानीमा भोज भत्तेर गर्न लगाइयो र फेरि अत्तरिया फिर्ता ल्याइयो।
अहिले अत्तरियाकी ऋतु थापा भन्दैछिन् आफूलाई आफ्नैले ठगे र अहिले एक युवतीले झूटो आरोप लगाइरहेकी छिन्। ऋतुले अत्तरियामा होटेल सञ्चालन गर्दै आएकी छिन्। उनकै होटेल नजिकै किराना पसल सञ्चालन गरिरहेकी २० वर्षीया मीनाले आफूलाई चोरीको आरोप लगाएको उनी सुनाउँछिन्।
ऋतुका अनुसार नेपालगञ्जदेखि अत्तरियासम्मको यात्राको नालिबेलि
ऋतुका अनुसार चैत्र ११ गते मीनाले आफूलाई बेसञ्चो भएको भन्दै अस्पताल लगिदिन आग्रह गर्छिन्। “मेरो टाउको पनि दुखिराछ, अनि मेरो मुटुमा किरा पर्यो, म मरिराछुँ छ, मलाई अस्पताल लग्दिनु भनेर हात जोडेर अनुरोध गरी।
अनि हामी चार जनाले मिलेर उसलाई अस्पताल लगेर गयौँ,” ऋतुले भनिन्। उनी भन्छिन्, “यता उपचार गरेर मलाई सञ्चो हुँदैन, नेपालगञ्ज जाउँ भनेपछि एक्लै छे, उसको कोही छैन भनेर नेपालगञ्ज लगेर गयौँ, उल्टै चोरीको आरोप लगाई।”
मीनाले ११ गतेका दिन अस्पताल लैजान भनेपछि नेपालगञ्ज लगेर गएको ऋतु बताउँछिन्। मीना आफैले ट्याक्सी बुक गरेर आफ्नै खर्चमा ऋतु र उनका श्रीमानसहित चार जनालाई लगेर अस्पताल गएकी ऋतु बताउँछिन्।
“अस्पतालमा डाक्टरले पिसाव जाँच गर्नुपर्छ भन्दा दुगुरेर भागी, पछि खोज्दा ढोकामा गएर चिच्याइरहेकी भेटिई। हामीले उसको सीटीस्क्यान गरायौँ। एकछिनमा रिपोर्ट आउँछ भन्दा थरथर काँप्ने,” ऋतुले भनिन्।
पछि डाक्टरले मीनाको मानसिक स्वास्थ्य जाँच गराउन सल्लाह दिएर घर पठाएको उनी बताउँछिन्। ऋतु भन्छिन् “उ संग नगद पैसा पनि रहेनछ, उपचारका लागि उसले आफूसंग भएको केही सुन धितो राखेर ५० हजार रुपैयाँ लिई।”
अस्पतालबाट आउने क्रममा पनि बाटोमा ट्याक्सीको ढोका खोलेर हाइवेमा मीना भागेकी र आफूहरुले बल्लतल्ल छोपेर ट्याक्सीमा हालेको उनी सुनाउँछिन्।
आउँदा चिसापानीमा एक होटेलमा मीनाकै पैसाबाट पाँच हजार रुपैयाँको नास्ता गरेको पनि उनी बताउँछिन्। “राति एक बजे हामीले मीनालाई उसको घर गुलरिया ल्याई पुर्यायौँ। उसलाई ट्याक्सी ड्राइभरले उसको मोबाइलसहित झोला कोठामै पुर्याइदिएको थियो। त्यतिबेला घरमा उसको भाई पनि छँदै थियो, अनि हामी पनि आ आफ्नो घर फर्कियौँ” ऋतु भन्छिन्।
ऋतुले भनिन् “१८ गते अचानक आएर मीनाले मलाई मोबाइल र पैसा चोरेको भन्दै आरोप लगाई। उसले केही प्रहरी लिएर आई, अनि मलाई जबरजस्ति इलाका प्रहरी कार्यालय अत्तरिया लगियो।” आफूसंग प्रहरीले पनि राम्रो व्यवहार नगरेको उनको भनाइ छ। तैँले चोरिस् उसको मोबाइल र पैसा, काँ छ ? छिटो निकाल् भन्दै प्रहरीले समेत दुव्र्यवहार गरेको उनी बताउँछिन्।
ऋतु भन्छिन् “मैले पैसा र मोबाइल चोरेकी छैन भनेर रोएँ, कराएँ तर उनीहरुले सुनेनन्। उल्टै पुलिसले तीन दिनसम्म थुनामा राख्छुँ भन्यो। मैले लाजैलाजले आफूसंग भएको मोबाइल दिएँ। अनि ८० हजार रुपैयाँ पनि तिरेँ।” “११ गते चोरी भएको भन्दै मीनाले १८ गते पुलिस ल्याएर आई। भोलिपल्टै किन भनिन ? अनि प्रहरी पनि उ संगै मिलेको छ। राम्रोसंग छानबिन नै नगरी मलाई मोबाइल र पैसा तिर्न लगाइयो, ” उनी भन्छिन्।
को हुन् आरोपित मीना ?
यता चोरीको आरोप लगाउने भनिएकी मीना धामी आफूले उपचारका लागि गइदिन भनेर ऋतुसंग अनुरोध गरेको बताउँछिन्।
उनले ऋतुसहित तीन जनालाई एक/एक हजार रुपैयाँ दिएर उपचारका लागि साथमा लगेको बताइन्।
बैतडीको थलाकाँडा भङ्गाड भन्ने ठाउँ घर भएकी मीनाका बुबा उनी दुई महिनाकी हुँदा बितेको बताउँछिन्। उनी भन्छिन् “म दुई महिनाकी हुँदाबुबा बित्नुभयो। त्यसपछि मम्मीलाई पनि दुख नै थियो, उहाँले अर्को बिहे गर्नुभयो। मलाई मम्मी र कान्छो बुबासंग बस्न उचित लागेन, अनि मैले कोठा भाडामा लिएँ। पेट पनि पाल्नुपर्यो, अत्तरियामा तीन लाख २५ हजारमा एउटा पसल भाडामा लिएँ।
सानो किराना पसल हो, सामान पनि पैसा नभएर थोरै राखेकी छुँ। पैसाजति त पसल किन्नमै सक्कियो।” “करिब दुई महिना जति भाडामा बसेपछि मम्मी र कान्छो बुबा ऋण तिर्नपर्ने भनेर काम गर्न इन्डिया मदरास गए। अनि घरमा भाइ एक्लै भएपछि म कान्छो बुबाको घर गुलरिया बस्छुँ आजभोली, ” उनले भनिन्।
उनी ११ गतेको घटनालाई यसरी सुनाउँछिन् :
मलाई सञ्चो लागिरहेको थिएन। म पहिलेदेखि नै बिरामी हुन्थेँ। मेरो छाती र टाउको बेस्सरी दुख्छ।
अनि मुखबाट ब्लड (रगत) पनि आउँछ। मेरो छातीमा दाग छ अनि टाउकोमा घाउ पनि छ। त्यो दिन मलाई सञ्चो नभएपछि साथमा जाने अरु कोही पनि थिएन। अनि मैले ऋतुसंग साथमा गइदिन भनेँ।
ऋतु, उनका श्रीमान र एकजना अर्की दिदी मसंग जान तयार भए। मैले एक/एक हजार रुपैयाँ दिने सर्तमा उनीहरुलाई लगेर गएँ। ट्याक्सी पनि बुक गरेँ। अस्पतालमा चेक गराइसकेपछि डाक्टरले रिपोर्ट त दिए होलान् तर मलाई रिपोर्ट देखाइएन। फर्किँदा चिसापानीमा उनीहरुले मलाई तँलाई त केही रोग पनि रहेनछ। पार्टी भयो आज तेरो तर्फबाट भनेर नास्ताका नाममा जबरजस्ति पार्टी दिन लगाए।
मैले त्यहाँको एक होटेलमा उनीहरुलाई १० हजार रुपैयाँको नास्ता खुवाएँ। म बिरामी हुँदा अस्पताल गाबेला पनि उनीहरुले नै सुन धितो राख्न लगाए। सुन धितो राखेर मैले ५० हजार रुपैयाँ पाएँ। पैसा नभएकाले सुन धितो राख्नु मेरो वाध्यता थियो। उनीहरुले होटेलमा मासु भातदेखि लिएर दारु बियरसम्म खाए। उनीहरुले मलाई तँलाई देउता लायो होला उपचार गरा। बरु हाम्लाई पाँच/पाँच हजार रुपैयाँ दे भने। मैले म त्यति त दिन सक्दिन भनेँ।
त्यसपछि म एकछिन बाथरुम गएर आउँदा उनीहरुले रेडबुलमा बियर मिलाएर मेरा लागि ठिक्क पारेका थिए। मैले खान्न भन्दा केही हुन्न खाउ भन्दै जबरजस्ति खान लगाए। हामी राति १ बजे मेरो घर गुलरिया पुग्यौँ। म नशा लागेर वेहोशीको हालतमा थिएँ। मेरो ब्याग, मोबाइल मसंग थिएन। राति उनीहरु मलाई घर
पुर्याएर फर्किए। ब्याग हेर्दा मैले आफ्नो पैसा र मोबाइल भेटिन।
अर्को दिन गएर मेरो पैसा र मोबाइल लगेछौ भन्दा मलाई सबै मिलेर हान्न आए। मसंग ५० हजार रुपैयाँमध्ये २५ हजार मात्र बाँकी थियो। जसमध्ये पाँच हजार मेरो खल्तीमै थियो। बाँकी २० हजार रुपैयाँ र मोबाइल उनीहरुले लगेछन्। उनीहरु उल्टै मैमाथि खनिन आएपछि मैले प्रहरीमा निवेदन दिएँ। उनीहरुले मलाई एउटा थोत्रो मोबाइल र पाँच हजार सात सय रुपैयाँ दिए। मैले बरु १० हजार छोडिदिन्छुँ बाँकी १० हजार त देउ भने तर उनीहरु मानेनन्।
चैत्र २१ गते प्रहरी चौकीबाट मीना
“अब फेरी उनीहरुलाई मैले झूटो आरोप लगाएँ भन्दै प्रहरीमा निवेदन दिएर मलाई चौकी पुर्याएका छन्। तँलाई चार वर्ष थुनामा राख्न लगाउँछौैँ भनेर धम्की दिइराछन्।
जबकी यिनीहरुबाट पीडित त म छुँ,” २१ गते फोनबाट उनले रुँदै भनिन्।
प्रहरीलाई केस मिलाउन सास्ती
इलाका प्रहरी कार्यालय अत्तरियाका अनुसार मीनाले दिएको निवेदनका आधारमा ऋतुलाई चौकी ल्याइर्एको थियो।
ऋतले पाँच हजार सात सय रुपैयाँ र एक पुरानो मोबाइल मीनालाई बुझाएको प्रहरी निरीक्षक उमेश चन्द बताउँछन्। उनी मीनाले आफ्नो रेडमि टु भन्ने मोबाइल र आफ्नो पैसा भएको पर्स ऋतुले बोकेको र सो पैसासंगै मोबाइल हराएको भनी निवेदन दिएको बताउँछन्।
उनीहरु त्यसपछि पनि झगडा भयो भनेर आएकामा सम्झाइ बुझाइ गरेर पठाएको प्रहरी निरीक्षक चन्द बताउँछन्।