सुदूरपश्चिममा नयाँ प्रकारको कोरोना संक्रमण फैलिँदै, निषेधाज्ञा निष्प्रभावी
धनगढीः सुदूरपश्चिम प्रदेशमा पहिलो पटक देखिएको नयाँ प्रकारको कोरोना संक्रमण फैलिँदो क्रममा रहेको छ। तर स्वास्थ्य सतर्कतामा कमी देखिएको छ।
सरकारले कोरोना भाइरसको जोखिमलाई हेरेर स्वास्थ्य मापदण्ड पालना गरेर मात्रै पठन–पाठन गर्न शिक्षण संस्थाहरुलाई निर्देशन गरेको भएपनि त्यसको पूर्ण पालना नभएको पाइएको छ।
सार्वजनिक स्थल, सार्वजनिक यातायात र सरकारी कार्यालयमा मास्क समेत नलगाउनेको संख्या हरेक दिन बढेको छ। जुनकारण पहिलेभन्दा कडा प्रकृतिको बताइएको कोरोनाको नयाँ प्रकार सुदूरपश्चिम हुँदै देशैभर भुसको आगो झै फैलिने जोखिम उच्च रहेको चिकित्सकहरु बताउँछन्।
नेपालसँग खुला सीमा जोडिएको छिमेकी भारतमा कोरोना भाइरसको दोस्रो लहर तीव्र रूपमा फैलिइ रहेको बेला सुदूरपश्चिममा भने स्वास्थ्य मापदण्डको चरम उल्लंघन बढ्दो छ।
कोरोनाको बेवास्ता गरेर हरेक दिन सरकारी तथा गैरसरकारी क्षेत्र तथा विभिन्न समूहले दैनिक आयोजना गरिरहेका भेला, जमघटका कारण नयाँ प्रकारको कोरोनाभाइरस फैलिने चिन्ता ह्वात्तै बढेको छ। साथै विद्यालय, कलेज, कार्यालय र सार्वजनिक स्थलमा मास्क समेत नलगाएर उपस्थित हुनेहरुको संख्या बढ्नुले कोरोना भाइरस फैलिने जोखिम उच्च भइरहेको छ।
विद्यालयहरु सञ्चालनमा छन् तर सबै विद्यार्थीहरुले भने मास्कको प्रयोग गरेर आउने गरेका छैनन्। कक्षाकोठाहरुमा पनि एकै बेञ्चमा चार जनासम्म विद्यार्थी राखेर पठनपाठन भइरहेको छ। विद्यालयहरुले स्यानिटाइजर, साबुन– पानीको व्यवस्था गरेको बताएपनि विद्यार्थीहरुले स्वास्थ्य सुरक्षाको मापदण्डको पालना नगरेरै धनगढी र आसपासका विद्यालय र कलेजमा पठनपाठन भइरहेको छ।
धनगढीको पञ्चोदय माध्यमिक विद्यालयका शिक्षक गण्ोशदत्त जोशी भन्छन्, “बिदापछि आज विद्यालय खुलेकोले केहीले मास्क नलगाएर विद्यालय आएका छन्। विद्यालयले पनि मास्क वितरण गर्ने गरेको छ। स्यानेटाइजर, साबुन–पानीको व्यवस्था गरिएको छ।”
स्वास्थ्य मापदण्ड अनुसार विद्यालय सञ्चालन गर्ने र थप कुराको जिम्मेवारी स्थानीय सरकारको भएकोले हाललाई विद्यालय सञ्चालनको विषयमा संघीय सरकारले कुनै निर्देशन नदिएको शिक्षा समन्वय इकाइ कैलालीका प्रमुख बैकुण्ठ सुबेदीले बताए।
प्रदेश सरकारले सुदूरपश्चिममा नयाँ प्रकारको कोरोना संक्रमण पुष्टि गरेकोले सबैलाई भएकोले सजग हुन सबैलाई अपिल गरेको छ।
“सबैले स्वास्थ्य मापदण्डको पालना नगरे कोरोना संक्रमण समुदायस्तरमा फैलिने जोखिम भएकोले मास्कको प्रयोग र भौतिक दूरी कायम गर्न भनिएको छ। सबैलाई अनुशासनमा बस्न, नेपाल सरकार र प्रदेश सरकारले जारी निषेधाज्ञा पालना गर्न अपिल गर्दछौँ।” सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्रसिंह कार्कीले भने।
कोरोनाको जोखिमलाई बेवास्ता नगर्न सरकार र चिकित्सकहरुले बारम्बार सर्वसाधारणलाई आग्रह गरिरहेको भएपनि जनस्तरमा भने स्वास्थ्य मापदण्डको पुरै उल्लंघन भइरहेको पाइएको छ। यस्तो अवस्थामा अधिकारीहरूले नयाँ प्रकारको भाइरस फैलिने दर अझै बढेमा प्रदेशमा फेरि लकडाउन अथवा कडा लकडाउन गर्नु पर्ने अवस्था आउन सक्ने चेतावनी दिएका छन्।