सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा ‘इन्टरलक’ इँटाको प्रयोग बढ्दै

२०७७ चैत्र २२, ०९:१० रासस

पछिल्लो समय कैलालीमा माटोको इँटाको विकल्पमा वातावरणमैत्री ‘इन्टरलक इँटा’को प्रयोग बढ्न थालिएको छ। 

संरचना निर्माणमा इँटाको माग बढेसँगै ‘इन्टरलक’ इँटाको प्रयोग पनि बढ्दै गएको हो। चिम्नी इँटा सहजरुपमा र उचित मूल्यमा पाउन समस्या भइरहँदा विकल्पमा यो इँटाको प्रयोग बढ्दै गएको स्थानीयवासी कालु चौधरीले बताए।

यो इँटा उत्पादन हुने ठाउँमा धुलो, धुवाँको समस्या नहुने भएका कारण वातावरणमा पनि कुनै त्यस्तो असर नपर्ने उद्योग सञ्चालकको भनाइ छ। इन्टरलक इँटाबाट संरचना निर्माण गर्दा चिम्नी इँटाको तुलनामा कम लागत पर्ने मदन इको इन्टरलक उद्योग धनगढीका सञ्चालक खेमराज जोशीले बताए।

क्रसर उद्योगबाट निस्कने ढुङ्गाको धुलो, बालुवा, सिमेन्टको मिश्रणबाट बनाइएको मसलालाई साँचोमा राखेर यो इँटा तयार पारिन्छ। पछिल्लो महिनामा इन्टरलक इँटाको उत्पादन गर्ने पनि बढ्दै गएका छन्। 

जोशीको उद्योगबाट प्रत्यक्षरूपमा छ जनाले रोजगारी पाएका छन्। चिम्नी इँटाको प्रतिगोटा मूल्य रु १७ सम्म पर्दा यो इन्टरलक इँटा प्रतिगोटा रु ४५ सम्म पर्छ। “चिम्नी उद्योगको इँटाको आकारभन्दा इन्टरलक इँटाको आकार ठूलो हुन्छ”, सञ्चालक जोशीले भन्नुभयो, “यो इन्टरलक इँटा प्रयोग गर्नेहरू बढ्दै गएका छन्।” 
 

कमेन्ट लोड गर्नुस