सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङको झनाना मोटरेवल पुल निर्माणको ९० प्रतिशत काम सम्पन्न

२०७७ चैत्र २१, ०६:३० खबर संवाददाता

बझाङ : बझाङको थलारा गाउँपालिका र जयपृथ्वी राजमार्ग जोड्ने झनाना मोटरेवलपुलमा असार मसान्तभित्र मोटर गुड्ने भएको छ।

पुल निर्माणको काम ९० प्रतिशत पूरा भइसकेको र १० प्रतिशत काम असार मसान्तभित्र पूरा हुने भएपछि असार मसान्तसम्म सहजरूपमा थलारा गाउँपालिकामा मोटर गुड्ने भएको हो।

झनाना पुल निर्माण कम्पनी शर्मा बिकोई जेभिका आधिकारिक व्यक्ति नवराज थापाले १ सय १ मिटर लामो झनाना मोटरेवल पुलको पिलर निर्माण भइ ट्रस समेत बनिसकेकोले त्यसमाथि सल्याप हाल्ने र रेलिङ निर्माणको काम मात्र काम बाँकी रहेको बताए। उनले उक्त कार्य असार मसान्तसम्म सक्ने र त्यसपछि सहजरूपमा थलारामा गाडी गुड्ने बताएका छन्।  

करिब ९ करोडको लागतमा निर्माण भइरहेको उक्त मोटरेवल पुलको निर्माण कार्य २०७४ माघबाट सुरु भएको थियो। सम्झौता अवधिमा पुल निर्माण कार्य सम्पन्न हुन नसक्दा एकपटक म्याद थप गरिएको थियो।

सेती नदी वारीपारीको बझाङको भूभाग जोड्ने बझाङमा झनाना सिमार पानकोट तमैलमा मोटरेवल पुल निर्माण भइरहेका छन्।

ती मध्ये पानकोट पुलको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ भने अन्य पुलको निर्माण कार्य भइरहेको छ। 

कमेन्ट लोड गर्नुस