सुदूर नेपाललाई विश्वसँग जोड्दै

६४औं राष्ट्रिय सहकारी दिवस डडेल्धुरामा पनि मनाइयो

२०७७ चैत्र २१, १२:३८ खबर संवाददाता

डडेल्धुरा: ‘मर्यादित व्यवसाय र प्रविधिमा सहकारी’ भन्ने मुल नाराका ६४ औं राष्ट्रिय सहकारी दिवस डडेल्धुरामा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ। सहकारीहरुमा डिजिटल प्रविधि विषयक अभिमुखीकरण कार्यक्रमका साथै अन्य विविध कार्यक्रम गरी ६४औँ राष्ट्रिय सहकारी दिवस मनाइएको हो। 

गत वर्ष कोभिड १९ को विषम परिस्थितिका कारण सिर्जित प्रतिबन्धात्मक अवस्थाले भौतिक रुपमा ६३औं राष्ट्रिय सहकारी दिवसका कार्यक्रमहरु हुन सकेका थिएनन्। हाल केहि साता यता कोभिडको संक्रमण दर खतराउन्मुख हुँदै गरेपनि गतवर्षको जस्तो असहजता र कडा सरकारी प्रतिबन्धहरु नभईसकेका कारण सुरक्षित र संयमित हुँदै सहकारी दिवस मनाउने निर्णय भएको जिल्ला सहकारी संघकी अध्यक्ष पद्मा गुरुङले बताइन । 

कार्यक्रममा प्रमुख अतिथि तथा सुदूरपश्चिम प्रदेशका सांसद कर्णबहादुर मल्लले सहकारी क्षेत्रले ग्रामीण भेगमा ठुलो फड्को मारेको बताए। उनले उत्पादन क्षेत्रको विकासका लागि सहकारीको भूमीका महत्वपूर्ण रहेको पनि बताए। राजनीति भन्दा पनि सहकारी क्षेत्रलाई प्राथमिकता दिन उनले आफ्ना कार्यकर्ता आह्वान पनि गरेका छन्।

यस्तै विशिष्ट अतिथि रहेका राष्ट्रिय सहकारी बोर्डका सह–अध्यक्ष तथा होप कोअपरेटिभ सर्भिस लिमिटेडका अध्यक्ष दक्ष पौडेलले सबै सहकारीलाई प्रविधिमैत्री बनाउनुपर्ने बताएका छन्। प्रविधि भित्र्याउन सके सहकारीले बैंकसँग समेत प्रतिस्पर्धा गर्नसक्ने उनको भनाई थियो। 

यस्तै कार्यक्रमका वरिष्ठ अतिथि रहेका राष्ट्रिय सहकारी महासंघका सञ्चालक राजेन्द्र पौडेलले सुदूरपश्चिमको विकास गर्न सर्वप्रथम सबैले यहाँ सहकारीको विकास गर्नुपर्ने बताए। उनले प्रविधिमैत्री सहकारी नभए सबै पछाडि पर्ने जिकीर गरे। 

कार्यक्रमका अतिथि रहेका गन्याधुरा गाउँपालिकाका अध्यक्ष नवल मल्लले आफ्नो स्थानीय तहले सहकारीको विकास गर्न कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाएका थिए। 

त्यसैगरी कैलाली सहकारी संघका निर्वतमान अध्यक्ष विश्व पौडेलले अब सहकारीमा युवा, महिला तथा सिमान्तकृत वर्ग लाग्नुपर्ने बताए। यहाँका व्यक्तिले सहकारीको नेतृत्व लिए प्रदेशको अर्थतन्त्रमा ठूलो टेवा पुग्ने उनको भनाई रहेको थियो। 

कार्यक्रमका अर्का अतिथि रहेका डडेल्धुराका सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम आर्याले सहकारीलाई पादर्शी  बनाउन आवश्यक रहेको बताएका छन्। जसलेगर्दा सञ्चालन भएका सहकारी नियमसंगत चल्ने उनको तर्क थियो।

दिवसको अवरमा हव कोअपरेटिभका सिइयो शिवजी सापकोटाले कार्यक्रममा उपस्थित भएका जिल्लास्थित सम्पूर्ण सहकारी संघका पदाधिकारी तथा सदस्यहरुलाई सहकारीमा प्रविधि विषयमा अभिमुखिकरण दिएका थिए। 

पछिल्लो समय सहकारी स्थापना भइसकेपश्चात वित्तीय पहुँच गाउँ–गाउँमा पु¥याउन सफल भएको छ। ठूला कारोबार गर्ने सहकारीले बैदेशिक रोजगारी, व्यापार व्यवसाय, घर–जग्गामा बढी लगानी गरेका छन् । पशुपालन र कृषि क्षेत्रमा पनि राम्रो लगानी सहकारीको छ। गाउँ– गाउँमा सानो व्यापार/व्यवसायमा पनि सहकारीहरुले लगानी गरिरहेका छन्। 

सहकारी विभागको पछिल्लो तथ्याङक अनुसार हाल मुलुकभर करिब ३० हजार सहकारीहरु छन्। 

आज भन्दा ६३ वर्ष अघि अर्थात् २०१३ सालमा आजकै दिन चितवनको शारदानगरमा नेपालको पहिलो सहकारीका रुपमा बखान ऋण सहकारी समिति स्थापना भएको दिनको सम्झनामा प्रत्येक वर्षको चैत २० गतेका दिन राष्ट्रिय सहकारी दिवस मनाउने प्रचलन छ।
 

कमेन्ट लोड गर्नुस