सुदूरपश्चिममा भारतबाट फर्किने बढे, हेलचक्य्राइँले कोरोना गाउँ–गाउँ फैलिने जोखिम
धनगढीः भारतमा दोस्रो लहरको कोरोना संक्रमण बढेसँगै नेपालमा पनि कोरोना संक्रमणको जोखिम बढेको छ। सुदूरपश्चिमेलीसहित नेपालीहरुकै मुख्य श्रम गन्तव्य रहेको भारतमा कोरोना फैलिन थालेपछि सुदूरपश्चिमका सिमा नाकाबाट स्वदेश फर्कने नेपालीको संख्या बढ्न थालेको छ।
कञ्चनपुरको गौरीफन्टा र गड्डाचौकी नाकाबाट मात्रै दैनिक करिब १५ सय नेपाली स्वदेश फर्किरहेको भएपनि सीमा नाकामा स्वास्थ्य परीक्षण गरी संक्रमितलाई आइसोलेशनमा राख्न नसकेको भन्दै सरकारको आलोचना भइरहेको छ।
तर स्वास्थ्य कार्यालय कैलालीले भने मंगलबारबाट आइसोलेशन सेन्टर सञ्चालनमा ल्याइएको जनाएको छ।
“धनगढीको कनरीमा आइसोलेशन सेन्टर सञ्चालन गरिएको छ। संक्रमित त्यहाँ राख्न थालिसकेका छौँ,” स्वास्थ्य कार्यालय कैलालीका निमित्त प्रमुख लालबहादुर धामीले भने, “गौरीफन्टा नाकाबाट आउने नेपालीमा संक्रण पुष्टि भए धनगढी उप–महानगरपालिका वडा नम्बर १५ कनरीमा रहेको जडीबुटी प्रशोधन केन्द्रमा बनाइएको आइसोलेशन सेन्टरमा संक्रमित राख्ने व्यवस्था मिलाइएको छ।”
कञ्चनपुरको गड्डाचौकी नाकाबाट आउनेहरुलाई भने महाकाली अस्पतालको आइसोलेशनमा राख्ने निर्णय गरिएका स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख शिवराज सुनारले बताए। गत वर्ष स्थानीय तहले आइसोलेशन सेन्टर सञ्चालन गरेपनि यो वर्ष भने प्रदेश सरकारले व्यवस्थापनमा अग्रसरता देखाएको छ। सामाजिक विकास मन्त्रालयले जिल्ला स्वास्थ्य कार्यालयको समन्वयमा आइसोलेशन सेन्टर सञ्चालन गरिने बताएको छ।
“संक्रमण पुष्टि भएका तर सुरक्षित तरिकाले आफ्नो घर जान नसक्ने व्यक्तिलाई १० दिनसम्म आइसोलेशन सेन्टरमा राख्ने निर्णय गरिएको तर सुरक्षित तरिकाले आफ्नो घर जान चाहनेलाई भने होम आइसोलेशनमा बस्ने गरि घर जान दिइने छ। आइसोलेशन व्यवस्थापनका लागि प्रदेश सरकारले बजेटको व्यवस्था गर्नेछ।” सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्रसिंह कार्कीले भने।
भारतबाट आउने हरेकको सिमा नाकामा स्वास्थ्य परीक्षण गर्ने कार्य प्रभावकारी हुन नसकेको भएपनि त्यो चाँडै सुधार गर्ने स्वास्थ्य अधिकारीले बताएका छन्। कैलाली, कञ्चनपुर, बैतडी र दार्चुला जिल्लाका स्वास्थ्य कार्यालयहरुले स्थानीय तहसँगको सहकार्यमा सीमा नाकाबाट आउने नागरिकको स्वास्थ्य परीक्षण, उपचार र आइसोलेशन व्यवस्थापन गरिने जनाइएको छ।
गौरीफन्टा र गड्डाचौकी नाकाबाट घर फर्किेने नेपालीको संख्या झनै बाक्लिएपछि स्वास्थ्य परीक्षणमा कठिनाइ हुन थालेको छ। तराईका दुबै नाकाबाट दैनिक करिब १५ सय जना स्वदेश फर्किरहेको अधिकारीहरुले बताएका छन्।
तर भारतबाट आउने सबैको सीमा नाकामा स्वास्थ्य परीक्षण गरी संक्रमितलाई आइसोलेशनमा नराख्दा कोरोना गाउँ–गाउँसम्म फैलिने चिन्ता बढेको छ।
तर सरकारी अधिकारीहरुले भने मंगलबारबाट प्रदेश सरकारले आइसोलेशन सेन्टर सञ्चालनमा ल्याइसकेको बताएका छन्।