सुदूर नेपाललाई विश्वसँग जोड्दै

मेयर, उपमेयर कप फुटबलः महिला र पुरूष दुवैतर्फ शुक्रबार फाइनल भिडन्त

२०७७ चैत्र १९, ०९:०४ खबर संवाददाता

धनगढीः धनगढी उप–महानगरपालिका नगर खेलकुद समितिको आयोजनामा जारी धनगढी मेयर, उपमेयर कप फुटबल प्रतियोगिताको उपाधिका लागि शुक्रबार भिडन्त हुने भएको छ। 

महिला तथा पुरूष दुवैतर्फको फाइनल खेल शुक्रबार वडा नम्बर ७ स्थित कालिका मन्दिरको खेल मैदानमा हुने भएको हो।

महिलातर्फको उपाधिका लागि वडा नम्बर १२ र वडा नम्बर १९ भिड्ने भएका छन्। पुरूषतर्फ भने उपाधिका लागि वडा नम्बर १२ र वडा नम्बर ७ प्रतिस्पर्धा गर्ने भएका हुन्।

फुलबारीस्थित डी गाउँको खेल मैदानमा भएको पुरूषतर्फको पहिलो सेमिफाइनलमा वडा नम्बर ७ ले वडा नम्बर १६ लाई ३–१ गोलअन्तरले पराजित गरेको हो। 

त्यसैगरी दोस्रो सेमिफाइनल खेलमा  वडा नम्बर १२ वाकओभर पाउँदै फाइनल पुग्यो।

वडा नम्बर १४ मै रहेको फुलबारीस्थित खेल मैदानमै भएको दोस्रो सेमिफाइनलमा वडा नम्बर १४ र वडा नम्बर १२ बिचको खेलमा दर्शक मैदान प्रवेश गरी रेफ्रीमाथि हातपात गर्न खोजेपछि खेल रोकिएको थियो। त्यसपछि वडा नम्बर ७ को खेल मैदानमा खेल खेल्नका लागि वडा नम्बर १४ अनुपस्थित भएपछि वडा नम्बर १२ फाइनल पुगेको हो

फुलबारीस्थित खेल मैदानमा भएको महिलातर्फका दुवै सेमिफाइनलमा जित हात पार्दै वडा नम्बर १२ र १९ उपाधिका लागि भिड्न यसअघि नै फाइनल पुगिसकेका छन्।

प्रतियोगितामा प्रथम महिला र पुरूष टिमलाई १ लाख १ हजार नगद पुरस्कारका साथै मेडल ट्रफी र प्रमाणपत्र, द्धितीय हुने टिमलाई ५१ हजार नगद मेडल ट्रफी र प्रमाणपत्र पाउने प्रतियोगिताका संयोजक दिपेन्द्र सिंहले जानकारी दिए।

उनकाअनुसार सर्वोत्कृष्ट खेलाडीलाई ५ हजार ५ सय नगद, मेडल ट्रफी र प्रमाणपत्र, उत्कृष्ट गोलकिपरले ५ हजार ५ सय नगद मेडल ट्रफी र प्रमाणपत्र, उत्कृष्ट डिफेन्सरले ५ हजार ५ सय नगद मेडल ट्रफी र प्रमाणपत्र, सर्वाधिक गोलकर्ताले पनि ५ हजार ५ सय नगद मेडल ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छन्। 
 

कमेन्ट लोड गर्नुस