होटल व्यवसायी संघ डडेल्धुराद्वारा आलोक मल्टी कन्सर्नलाई आर्थिक सहयोग
डडेल्धुराः धनगढी उप–महानगरपालिका–४ चटकपुरस्थित रहेको आलोक मल्टी कन्सर्न उद्योगमा आगलागी भएपछि आर्थिक सहयोग अभियान सञ्चालन भइरहेका छन्। आगलागीबाट क्षति भएको आलोक मल्टी कन्सर्न प्रालिलाई होटल व्यवसायी संघ डडेल्धुराले पनि आर्थिक सहयोग गरेको छ।
बिहीबार संघका अध्यक्ष दानबहादुर भण्डारीसहितका पदाधिकारीले फर्निचर उद्योगका सञ्चालक भोजराज भट्टकी पत्नीलाई २२ हजार ६ सय ५५ रुपैँया हस्तान्तरण गरेका छन्।
उद्योगमा आगलागी पश्चात केही हदसम्म सहयोग होस् भन्ने हेतुले आर्थिक सहयोग गरेको अध्यक्ष भण्डारीले बताए। उनले युवा व्यवसायी भोजराज भट्ट र पदम भण्डारीलाई अरूले पनि सक्दो सहयोग गर्नुपर्ने बताएका छन्।
उद्घाटनको तयारीमा रहेको भोजराज भट्ट र पदम भण्डारीको आलोक मल्टी ट्रेड कन्सर्न उद्योगमा फागुन २३ गते एक्कासी आगलागी भएको थियो। आगलागी भएर पौने ५ करोड बढी क्षति भएको बताइएको छ।
आगलागीबाट पूर्णरुपमा ध्वस्त भएको आलोक कन्सर्न प्राली पुनःसञ्चालनको तयारीमा रहेको छ।