साउदीबाट घर फर्किएका थिए कञ्चनपुरका वीरेन्द्र चन्द, तर ब्रह्मदेवमा घर बनाउने काम पूरा गर्न सकेनन्
कञ्चनपुर: घटना चैत्र १६ गते होलीको दिन छ। कोरोनाभाइरसले गर्दा होलीको रौनक त्यति छैन। गाउँघरमा धुमधामसित होलीका गीत गाएर मनाइने होली पर्व यसपालि भने सुनसान र फिक्का छ। कञ्चनपुरको बेलडाँडी गाउँपालिका वडा नम्बर २ चन्दन बस्तीकी प्रतिभा चन्दलाई फागुन २८ गते ब्रह्मदेव गएका उनका श्रीमान वीरेन्द्र चन्दको फोन आउँछ।
“होली त हुन्न होला नि अरु बेला जस्तो?” वीरेन्द्र सोध्छन्। “नाईँ केही पनि छैन त्यस्तो कोरोनाले गर्दा, थाहा छैन र ?” प्रतिभा भन्छिन् ।
“हुन्छ त्यसो भए म भोली (१७ गते) आउँछु।” यति भनेर वीरेन्द्रले फोन राखेको प्रतिभा बताउँछिन्।
घरबाट कहाँ गएका थिए वीरेन्द्र ?
वीरेन्द्र ब्रह्मदेवमा घर बनाउन गएका थिए। उनले त्यहाँ आफ्नो घर बनाइरहेका थिए। घर बनाउने क्रममा उनी आफ्नी फुपूको घरमा बस्दै आएका थिए । होलीको दिन भने उनी ससुराली सुकासाल गइरहेका थिए।
“माइत पुग्न १० मिनेट जति बाँकी थियो, उहाँको मोटरसाइकल दुर्घटना भएछ,” प्रतिभा भन्छिन्। उनले भनिन् “दुर्घटना कुनै गाडीसँग ठोकिएर भएछ वा आफै दुर्घटनामा पर्नुभएछ, त्यो भने थाहा हुन सकेन।”
प्रतिभाका अनुसार दुर्घटनापछि वीरेन्द्र हुत्तिएर सडक नजिकैको एक घरको आँगनमा पछारिन पुगेछन्। ती घरकी एक महिलाले उनलाई घाइते अवस्थामा देखेपछि त्यहाँको वडा कार्यालयमा काम गर्दै आएका आफ्ना भाइलाई फोन गर्छिन्। वीरेन्द्रलाई उनले महाकाली अञ्चल अस्पताल पुर्याउँछिन्।
अस्पताल पुगिसकेपछि प्रतिभाका श्रीमान नै हुन् कि भन्ने शंका मानेर ती महिलाले वीरेन्द्रको खल्तिबाट मोबाइल झिक्छिन् र दाइ लेखेर सेभ गरिएको नम्बरमा फोन गरेर घटनाबारे बताउँछिन्। त्यो नम्बर वीरेन्द्रकी फुपूका छोराको हुन्छ। उनी हत्तारिँदै अस्पताल पुग्छन्। त्यसपछि प्रतिभाका माइती पनि त्यहाँ आइपुग्छन्। बाहिरी चोटपटक केही पनि नलागेका आँखामा अलि चोट मात्रै लागेका वीरेन्द्रको कानबाट भने रगत बगेको प्रतिभा बताउँछिन्।
के भने डाक्टरले ?
महाकाली अस्पतालका डाक्टरले त्यहाँ उपचार सम्भव भएको बताएपछि वीरेन्द्रलाई थप उपचारका लागि भारतको बरेलीस्थित शुभम् अस्पताल लैजाने निधो गरिन्छ। भारतकै बनबासा भन्ने ठाउँ बस्ने उनका अंकलले केही समय अगाडि आफ्नो छोराको पनि त्यसैगरी दुर्घटनामा परी टाउकोमा चोट लाग्दा शुभम् अस्पतालमैँ उपचार गरिएको बताएपछि आफूहरुले वीरेन्द्रलाई पनि सोही अस्पताल लगेको प्रतिभा बताउँछिन्।
१६ गते राति १२ बजे सुभम् अस्पतालका लागि हिँडेका उनीहरु राति ३ बजे त्यहाँ पुग्छन्। उपचार सम्भव नभएको बताए पनि त्यो दिन उनलाई अस्पतालमा राखिन्छ । १७ गते मंगलबारका दिन शुभम् अस्पतालले वीरेन्द्रको मृत्यु भएको बताउँदै शव घर लैजान सुझाव दिन्छ। उनीहरु राति १० बजे वीरेन्द्रको शव ल्याएर घर पुग्छन्।
महाकाली किनारमा अन्त्येष्टि !
हिजो १८ गते बुधबार मात्रै महाकाली उनको शवको आर्यघाटमा अन्त्येष्टि गरिएको छ। वैदेशिक रोजगारीमा साउदी अरेबिया गएका वीरेन्द्र तीन वर्ष त्यहाँ बसेर घर आएको डेढ वर्ष मात्रै भएको थियो।
२९ वर्षीया प्रतिभा भन्छिन् “भोली (१७ गते) घर आउँछु भन्नुहुन्थ्यो तर उहाका योजना र सपना अधुरै रहे। उहाँको यसरी घर आउन लेखिएको रहेछ। यति चाँडै छोडेर जालान् भन्ने कल्पनै गरेकी थिइन। उहाँको आयु यत्ति नै रहेछ। मसँगको साथ उहाँको यति नै भयो। मैले अब यही सोचेर चित्त बुझाउनुपर्ने भएको छ।” यति भनेर प्रतिभा भक्कानिन्छिन्।
वीरेन्द्रका एक छोरी र दुई छोरा गरी तीन छोराछोरी छन्। १२ वर्षीय जेठा प्रवेश कक्षा ५ मा अध्ययनरत छन्। ६ वर्षीया छोरी प्राची कक्षा यूकेजी र कान्छा ४ वर्षका छोरा प्रिन्स चन्द नर्सरी कक्षामा पढ्छन्। १८ दिनदेखि भेट नभएका वीरेन्द्र दम्पतीको भेट अब यो जुनीमा नहुने भएको छ।
एउटा सडक दुर्घटनाले वीरेन्द्र चन्दसँगै उनको परिवारको सपना र योजना सबै भताभुड्ङ्ग बनाइदिएको छ।