धनगढी उपमहानगरभित्र सडक निर्माण ठप्प हुँदा सहरको मुख्य भाग धुलाम्य, नगरवासी धुवाँ र धुलोसँगै बाँच्न बाध्य
धनगढी: धनगढी उपमहानगरभित्र निर्माणाधिन मुख्य सडकको काम ठप्प भएपछि धुँवा र धुलोसँगै बाँच्न बाध्य भएका स्थानीयवासी अत्यन्तै आक्रोशित भएका छन्।
धुलाम्य एवं खाल्डाखुल्डीयुक्त सडकमा सवारी दुर्घटनाको जोखिम पनि बढेको छ। स्थानीयवासीहरू निर्माण कम्पनी, आयोजना कार्यालय र धनगढी उपमहानगरपालिकाको बेवास्ताका कारण शहीद गेट–क्याम्पस रोड, हुलाकी सडक र एसियाली विकास बैंकको सहयोगमा निर्माण भइरहेका सडकका काम ठप्प भएको बताउँछन्।
तर उपमहानगरपालिकाले सडक निर्माणका रोकिएका सबै काम अब अघि बढ्न लागेको जनाएको छ। तैपनि धुँवा, धुलो र फोहरमैलासँगै बाँच्न बाध्य स्थानीयवासीले कहिलेसम्म सास्ती भोगिरहनु पर्ने हो त्यो स्पष्ट छैन।
सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी समेत रहेको धनगढी उपमहानगरमा धुवाँ मात्रै छैन अलपत्र सडकका कारण धुलो पनि उत्तिकै छ। धुलो र खाल्डोकै कारण धेरै मानिसले शहिद गेट–क्याम्पस रोड र सँगै जोडिएको हुलाकी सडकमा गुड्न वा हिँड्न नै छोडेका छन्।
एसियाली विकास बैंकको ऋण सहयोगमा विभिन्न सात र हुलाकी सडक गरी आठ सडक निर्माणको चरणमा छन्। सबैतिरको अवस्था लगभग उस्तै छ। सबैतिर धुलैधुलो र पानी पर्दा हिलैहिलो मात्र हुन्छ। त्यस्तो सडक छेउ बसोवास गर्ने क्याम्पस रोडका स्थानीय बलराम पाठक सरकारले कानुनको प्रयोग गरेर समयमै काम सम्पन्न गर्नुपर्ने बताउँछन् । “निर्माणाधिन सडक धुलाम्य हुनुमा सरोकारवाला सबैको कमजोरी भएको छ र सो कमजोरी हुन नदिनु सरकारको दायित्व हो” पाठकले भने।
क्याम्पस चोकदेखि मनेहरा नदीसम्म निर्माण भइरहेको हुलाकी सडकको लम्बाइ साढे तीन किलोमिटर छ। त्यहाँको अवस्था पनि उस्तै छ। तीस महिनाभित्र सम्पन्न गर्ने गरी गत असारमा सो सडकको ठेक्का सम्झौता भएको थियो ।अनामनगरका नास्ता पसल सञ्चालक कालुराम चौधरी सडक निर्माण कार्य कछुवा गतिमा भइरहेकोले धुँवा, धुलो, निर्माण सामग्री र अधुरो नाली बनाएर छोड्दा दुर्घटनाको जोखिम बढ्नुका साथै नगरको सौन्दर्यनै बिग्रिएको बताउँछन्। “सडक निर्माणको कारण व्यापारमा समस्या भएको छ। नाली बनाउन खाल्डो खनेर छोडेको हप्तौँ भएको छ। सडकमा निर्माण सामग्री थुपारिएको छ। ग्राहक कोहि आउदैनन्। धुँवा–धुलो मात्रै छ” चौधरीले भने।
हुलाकी सडकको बुद्ध चोकका व्यवसायी विनोद दाहालले पनि सडक निर्माण कार्यमा भइरहेको ढिलासुस्तीले आफूहरूलाई निकै समस्या भइरहेको बताए। उनले भने, “काम नगरेर निर्माण कम्पनी बेपत्ता भएको छ। सरोकारवालाको ध्यान समयमै हाम्रो समस्यामा गएन भने आन्दोलन समेत गर्न तयार छौँ।”
तर उपमहानगरपालिका र ठेकेदार कम्पनी काम रोकिएको भए पनि छिट्टै अघि बढाइने बताउँछन्। हुलाकी सडक निर्माणको ठेक्का पाएको स्वच्छन्द जोशी जेभीका सञ्चालक गणेशदत्त जोशीले होलीका कारण केही दिन काम रोकिएको र निर्माण कार्य पुनः सुरु भइसकेको बताए।
सहिद गेट– क्याम्पस रोड सडकलगायत एसियाली विकास बैंकको ऋण सहयोगमा निर्माण भइरहेका धनगढीका विभिन्न सात ओटा सडक निर्माणको ठेक्का पाएको कालिका कन्स्ट्रक्सनले भने सडक निर्माणमा चाहेर पनि गति दिन नसकेको बताएको छ। सडक निर्माणभन्दा पहिला नाली निर्माण गर्नुपर्ने भएपनि स्थानीयको अवरोधका कारण काममा बाधा पुगेको निर्माण कम्पनीका इन्जिनीयर जितेन्द्र यादवले बताए।
उपमहानगरपालिकाले भने सबै सडकको निर्माण समयमै सम्पन्न गर्न निर्माण कार्यमा आवश्यक सहयोग र समन्वय गर्न तयार रहेको बताएको छ। समस्या भएको ठाउँमा उपमहानगरले आवश्यक पहल गर्ने प्रवक्ता सन्तोष मुडभरीले बताए।
धनगढीमा अहिले हुलाकी सडकलगायत एसियाली विकास बैंकको ऋण सहयोगमा १ दशमलव ३८ किलोमिटरको धनगढी मुख्य सडक, संघीय प्रहरी कार्यालयदेखि ६ लेन सडकसम्म २ दशमलव ७ किलोमिटर सडक, ७ सय मिटरको क्याम्पस गेट– जाखोर ताल सडक, ३ दशमलव ६५ किलोमिटरको शहीद गेट– क्याम्पस रोड सडक, ८ सय ७० मिटरको डिभोटी– पिपल चौतारा सडक, १ दशमलव १५ किलोमिटरको हसनपुर सडक, र ४ सय ३० मिटरको मालपोत सडकको निर्माणको काम सुरु भएको छ।
तर ती सबै सडक अलपत्र देखिन्छन्। जसका कारण नगरको सौन्दर्य निकै बिग्रिएको छ। सडकको धुलो जोखिमपूर्ण खाल्डो र धुवाँको सीधा असर धनगढीवासीको स्वास्थ्यमा परेको छ।