सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङमा हावाहुरीः आधा दर्जन विद्यालयका छाना उडायो

२०७७ चैत्र १७, १२:०८ खबर संवाददाता

बझाङः बझाङमा हावाहुरीले आधा दर्जन विद्यालयका छाना उडाएको छ। 

जिल्लाको दुर्गाथली गाउँपालिका वडा नम्बर ७ मा रहेको दुर्गा माविको छाना सोमबारको हावाहुरीले उडाएको छ। हावाहुरीले विद्यालयको १० कोठे भवनको टिनले छाएको छाना उडाउदा कक्षा सञ्चालन गर्न समेत समस्या आएको विद्यालयका शिक्षक भुपाल दौल्यालले बताए। हावाहुरीले विद्यालयको छाना उडाएपछि पठनपाठनमा निकै समस्या भएको उनले बताए।

यस्तै जयपृथ्वी नगरपालिका वडा नम्बर ४ मा रहेको भवानी सामुदायिक आधारभुत विद्यालयको छाना पनि हावाहुरीले उडाएको छ। ५ कक्षासम्म पढाइ हुने ४ कोठे भवनको छाना हावाले उडाएको शिक्षक केशवराज उपाध्यायले बताए। 
विद्यालयको छाना उडाउँदा  विद्यार्थीहरुलाई पठनपाठन गर्न समस्या भएको र वायुप्रदुषणले गर्दा पनि विद्यार्थी, शिक्षक लगायतलाई थप सास्ती हुने गरेको उनले बताए। 

यस्तै मयाना खोपकेन्द्र राखिएको भवनको छानो समेत हावाहुरीले उडाएको छ। जयपृथ्वी नगरपालिका वडा नम्बर ११ मा रहेको धौल्देव प्राविमा रहेको मयाना खोपकेन्द्रको भवनको छाना उडाएको हो। हावाहुरीले छाना उडाएपछी सेवा दिन समस्या भइरहेको धौल्देव प्राविका प्रधानाध्यापक टेक धामीले बताए।  

यसैगरी जयपृथ्वी नगरपालीका वडा नम्बर ५ कोटेलीको कालीका मन्दीरमा पूर्णरुपमा क्षतीग्रस्त भएको वडाअध्यक्ष डम्बरबहादुर शाहीले बताए। 

जिल्लाभरको पूर्ण क्षतिको विवरण संकलन भइरहेको बताइएको छ। 
 

कमेन्ट लोड गर्नुस