सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिम नेपालको रानाथारु बस्तीमा ३८ दिने होरीको उल्लास, अनौठो चलनबारे उब्जिए यस्ता प्रश्न

२०७७ चैत्र १७, १०:१० नारायण अवस्थी

धनगढीः सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुरमा मात्रै बसोबास रहेको रानाथारु समुदायमा होरी पर्व १ महिना ८ दिनसम्म मनाइन्छ।

माघ शुक्लपूर्णिमादेखि फागुन शुक्लपूर्णिमासम्म जिउँदो होरी भनेर ३० दिन र फागु पूर्णिमापछि थप ८ दिनसम्म मरेको होरी खेल्ने चलन रहेको बताउँछन् धनगढी गाउँका भलमान्सा शाहजादे राना।

रानाथारु बस्तीमा १ महिना ८ दिन मनाइने होरी पर्व आधुनिकता बढेसँगै लोप हुँदै जान थालेको भन्दै उनले चिन्ता व्यक्त गरे।

विगतमा माघ शुक्लपक्षको पूर्णिमाको दिनदेखि फागु पूर्णिमासम्म ३० दिन जिउँदो होरी र फागु पूर्णिमादेखि ८ दिनसम्म मरेको होरी खेल्ने चलन भएपनि आधुनिकता बढेसँगै होरी खेल्ने समयमा समेत कटौती भएको बताइएको छ। 

“नयाँ पुस्ता काममा व्यस्त हुने भएको र होरी गीत गाउन र नाच्न कठिन हुने भएकोले युवा पुस्ताले सिक्न असजिलो मान्दा पनि होरीको समय घटाउनु परेको छ। तर आफ्नो संस्कृति बचाउन भने केही युवामा जागरण देखिएको छ। हामीले पनि सिकाउने प्रयास थालेका छौँ” भलमन्सा रानाले भने।

रानाथारुको होरी नाचमा महिला र पुरुषको समान सहभागिता रहने बताइएको छ। माघ पूर्णिमाको राति गाउँको दक्षिणी सीमानामा पूजापाठ गरेर त्यहाँ ७ ओटा कन्डा(गुइठा) छोडेपछि हारीको सुरुवात हुने र एक महिनासम्म घर–घरमा गइ होरी गीत गाउने र सामूहिक रुपमा नाच्ने प्रचलन रहिआएको छ। जिउँदो र मरेको होरीमा फरक–फरक होली गीत गाउने चलन रहेको बताइएको छ।

“होरीमा भगवान कृष्ण गाथामा आधारित होली गीत गाउदै नृत्य गर्ने चलन रहेको र महिला तथा पुरुषले गीत गाउने र नाच्ने परम्परा रहेको छ।” स्थानीय तुलसादास रानाले बताइन्।

रानाथारु समुदायमा माघ पूर्णिमामा छोडिएको गुइठा फागुन पूर्णिमाको राति पराल र तोरीको पिजाइसहित जलाइन्छ। दैत्य हिरण्यकश्यपकी बहिनी होलिकाको प्रतीक मानी गुइठा लगायत वस्तुलाई विधिपुर्वक पूजापाठ गरि जलाएपछि ८ दिनसम्म मरेको होरी खेल्ने परम्परा रहेको छ।

रानाथारु समुदायमा होरीको विसर्जन गर्ने मौलिक परम्परा रहेको छ। होरीको अन्तिम दिन विहानै सबै गाउँलेहरु माटोको गोलीलाई सिन्कामा उनेर गाउँको दक्षिणी सीमानामा भेला हुने गर्दछन्। सो दिन  गाउँको भर्रा(पूजारी) ले विधिवत पूजापाठ गरेपछि माटोका खक्रेरा(गोली) लाई फुटाएर होरीको विधिवत समापन गरिने थारु अगुवाहरुले बताएका छन्।

तर बढ्दो आधुनिकता र व्यस्त जीवनशैलीको कारण होरी नाच अहिले पुरै एक महिना ८ दिनसम्म भने नखेलिने गरेको स्थानीयले बताएका छन्। 

“थोरै रानाथारु गाउँमा मात्रै होरी नाच खेलिने गरेको छ। होली खेल्न परम्परागत पोसाक लगाउनुपर्ने र नाच समेत लामो हुने भएकोले नयाँ पुस्ताले विस्तारै होरी खेल्न नजान्ने पो हो भनेर चिन्ता लाग्ने गरेको छ” धनगढी गाउँका भलमन्सा समेत रहेका शाहजादे रानाले भने। 

नारायण अवस्थी दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस