सुदूर नेपाललाई विश्वसँग जोड्दै

कोरोना कहरकाबीच धनगढीमा होलीको चहलपहल

२०७७ चैत्र १५, ०६:५४ नारायण अवस्थी

धनगढी: कोरोना फैलिन नदिन लगाइएको आशिंक निषेधाज्ञाकै बीच धनगढीमा बसोबास गर्ने पहाडी समुदायले आइतबार होली मनाएको छ। तर होलीको चहलपहलमा विगतभन्दा कमी आएको देखिएको छ। 

कोरोना भाइरसको दोस्रो लहरबाट जोगिन स्वास्थ्य सावधानी अपनाउन स्थानीय प्रशासनले अपिल गरेपछि होलीको चहलपहलमा केही कमी आएको हो। 

यस्तै ससाना समूहमा होली खेल्ने अधिकांश मानिसहरूले सामाजिक दूरी कायम नगरेको र मास्क तथा स्यानिटाइजरको कम प्रयोग गरेको पाइएको छ।

भारतमा कोरोनाको दोस्रो लहर तीव्र गतिमा फैलिरहेको र नेपालमा समेत नयाँ संक्रमितहरु देखा परिरहेका बेला सार्वजनिक स्थानमा देखिएको स्वास्थ्य असावधानीले कोरोनाभाइरस फेरि भुसको आगो झैँ सल्किने चिन्ता गरिन थालिएको छ। कोरोनाको बढ्दो त्रासबीच होली खेल्दा गरिने जमघट र भेलाले थप जोखिम निम्त्याउने चिन्ता गरिएको छ। 

भारतमा कोरोना भाइरसको तीव्र संक्रमण र त्यसबाट बढी रहेको मृत्यु दरले नेपालमा पनि चिन्ता बढाएको हो। कोरोना भाइरस संक्रमणमा केही कमी आएको बेला पुनः फैलिरहेको संक्रमणले विकराल रुप ग्रहण नगरोस् भनेर सावधानी अपनाउन सरकारले अपिल गरेको भएपनि सबै पक्षबाट स्वास्थ्य सावधानी अपनाउन छोडिएको भनेर चिन्ता व्यक्त गरिएका छन्। 

होलीमा हुने सम्भावित भिडभाडलाई रोक्न प्रशासनले अनुरोध गरेको छ जसका कारण विगत जस्तो होली मनाउनेहरुको भिड भने नगर क्षेत्रमा देख्न पाइएको छैन। तर धनगढीबासीले भने अलि फरक तरिकाले होली मनाएको बताएका छन्। उत्तरबेहडीमा भेटिएका विवेक भट्टले भने, “यो वर्ष पानीले होली खेलेनौँ। रंग मात्रै दल्ने काम गरियो। सुरक्षाका लागि मास्क लगाएका छौँ। गत वर्ष पनि कोरोना लागेन यो वर्ष पनि नसर्नेमा ढुक्क छु।”

होलीमा अरु वर्ष नगर क्षेत्रका सडकहरुमा होली खेल्नेको निकै घुइँचो लाग्ने धनगढीमा गत वर्ष झै यो वर्ष पनि सडक, गल्ली, टोल र बस्ती सुनसान देखिएका छन्। प्रशासनको अनुरोध र कोरोनाको डरका कारण नजिकका साथीहरुसँग मात्रै होली पर्व मनाएको लक्ष्मी मल्लले बताइन्।

स्थानीय प्रशासनले समेत होली लगायत अन्य प्रयोजनका लागि समेत भेला जमघट नगर्न, मास्क लगाउन र भौतिक दूरी कायम राख्न अनुरोध गरेको छ। 

होलीमा समेत अन्य पर्वमा जस्तै सजगता जनस्तरबाटै अपनाए संक्रमणको जोखिम न्यून हुने जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए।

“होलीमा हुने भेला र जमघटका सम्भावित ठाउँ पहिचान गरेर प्रहरी परिचालन गरेर सचेतनाका लागि अनुरोध गर्दैछौँ भने सबै व्यक्ति, समुदायलाई कोरानाबाट बच्न आ–आफ्नो क्षेत्रबाट लाग्न समेत अनुरोध गरेका छौँ” जोशीले भने।

कोरोना भाइरसको जोखिम बढ्ने भन्ने चिन्ता बढेको बेला होली लगायत पर्व मनाउँदा भिडभाड नगर्न सरकारले आदेश जारी गरेको छ। कोरोना भाइरसबाट बच्न बाहिर निस्किदा मास्क प्रयोग गर्न, भौतिक दूरी कायम गर्नुका साथै साबुन पानीले हात धुने र सेनिटाइजरको अनिवार्य प्रयोग गर्नुपर्नेमा जोड दिइएको छ।
 

 

 

 


 

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस