बाजुरामा पनि आंशिक निषेधाज्ञा
बाजुरा: छिमेकी राष्ट्र भारतमा कोरोना संक्रमण बढेपछि बाजुरामा पनि शुक्रबार राति १२ बजेदेखि लागु हुने गरी आंशिक निषेधाज्ञा जारी गरिएको छ।
जिल्ला प्रशासन कार्यालय बाजुराले सूचना जारी गरेर बाजुराबासीलाई कोरोना संक्रमणप्रति सचेत हुन आग्रह गरेको छ। गृह मन्त्रालयबाट प्राप्त पत्रअनुसार शुक्रबार राति १२ बजेबाट सुरु हुने गरी निषेधाज्ञा जारी गरीएको प्रमुख जिल्ला अधिकारी कृष्ण गैरेले बताएका छन्।
बाजुराका कुनै पनि ठाउँमा होली पर्व खेल्न नपाइने सूचनामा उल्लेख छ। त्यसैगरी कोभिड– १९ रोकथामका लागि भीडभाड, मेला महोत्सव, जात्रालगायत कुनै पनि कार्यक्रम गर्न पाइने छैन।
स्वास्थ्य सुरक्षा, सामाजिक दूरी र स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्न जिल्ला प्रशासन कार्यालयले निर्देशन दिएको छ।
कसैले नियमको उल्लंघन गरेको पाइए संक्रामक रोग ऐन, २०२० बमोजिम कारबाही गरिने बताइएको छ।