काठेपुल निर्माणका लागि भारतद्धारा नेपाली पक्षसंग अनुमति माग
नेपाल भारत सीमा नदी महाकालीमा अस्थायी काठेपुल लगाउन पुन: भारतीय पक्षले नेपाली पक्षसंग अनुमति माग गरेको छ। भारतको पिथौरागढ जिल्ला अन्तर्गत धारचुला तहशिलको उत्तरी क्षेत्रमा पर्ने लखनपुर र नजांग गरी दुई ठाउँमा काठेपूल लगाउन भारतले अनुमति माग गरेको हो।
भारतले आधिकारीक रुपमा जिल्ला प्रशासनलाई अनुमतिको लागि पत्रचार गरेको दार्चुलाका प्रमुख जिल्ला अधिकारी खुमकान्त आचार्यले जानकारी दिनुभयो। प्रशासनले अनुमति माग गरेको विषय गृह मन्त्रालयलाई शुक्रबार नै जानकारी गराइएको छ। भारतको पिथौरागढ जिल्ला प्रशासनले मानसरोवर जाने तिर्थयात्री तथा धारचुला तहशिलका नागरिकलाई बसाईसराई गर्न सहजताको लागि अस्थायी काठेपुल लगाउन अनुमति माग गरेको पत्रमा उल्लेख गरेको छ।
यस अघि पनि भारतीय पक्षले लखनपुर र नजांगमा काठेपुल लगाएको थियो । वर्षातको समयमा महाकाली नदी बगेपछि लगाइएका काठेपूल बगाएको थियो । शुरुमा भारतीय पक्षले नेपाली पक्षको अनुमति वीना पूल लगाएको भन्दै विरोध भएपछि प्रक्रिया पूरा गरेर दुवै पक्षले अस्थायी काठे पूल लगाउने सहमति भएको थियो। अहिले भारतीय पक्षले शुरुमै विवाद् नहोस् भन्नको लागि अनुमति माग गरेको प्रमुख जिल्ला अधिकारी आचार्यले बताए।
भारतीय क्षेत्रमा कालापानीसम्म पुग्ने सडक निर्माण भैइरहेका कारण बसाईसराई गर्न समस्या भएको भन्दै तत्काललाई पूल लगाउन माग गरेको छ । प्रशासनले गृह मन्त्रालयबाट पूल लगाउन दिने नदिने विषयमा जवाफ आइसकेपछि मात्रैभारतीय पक्षलाई जानकारी गराउने उनले बताए। यसैगरी नेपाली पक्षलेसमेत महाकाली नदीमा तुइन भएका ठाउँमा भारतीय पक्षलाई अस्थायी काठेपुल लगाउने विषयमा अनुरोध गरेका छन्। जिल्लाको व्याँस गाउँपालिका वडा नम्बर २ को माल र दुम्लिङ्गमा अस्थायी काठेपुल लगाउने विषयमा अनुमति माग गरिएको छ। यसअघि पनि नेपाली पक्षले ती दुवै ठाउँमा काठे पूल लगाउने भारतीय पक्षसँग माग गरेको थियो। नेपाली पक्षले व्यामा बसोबास गर्ने सौका समुदायको बसाईसराई सहजहोस् भन्नको लागि दुई ठाउँमा अस्थायी काठेपुलको अनुमति माग गरेको प्रजिज आचार्यले बताए। व्यासी सौका समुदायका नागरिकहरु चिसो छल्न छ महिनासदरमुकाम खलंगा र छ महिना व्यासको छांगरु र तिंकरमा बसाइसराई (कुञ्चा) सर्दै आएका छन्। जिल्ला प्रशासनका अनुसार नेपाली पक्षबाट माग भएका स्थानमा सुरक्षाकर्मी खटाइने तयारी गरिएको छ ।
अस्थायी काठेपूलबाट भारतीय पक्षले चोरी शिकारी गर्ने र नेपालतर्फ वन फडानी गर्ने गरेको गुनासाहरुसमेत बेलाबेला आउँने गरेको छ । त्रिदेशीय सीमा क्षेत्र ब्याँसमा बनजंगल तथा बन्यजन्तु अखेटोपहारको चोरी सिकारी हुने गरेकोले सुरक्षा उपस्थिति आवश्यक हुने व्यासी समुदायको माग छ । महाकाली नदीमाथि झोलुङगे पूल निर्माण नहँुदा काठेपुल र तुइनको साहारामा नदी वारपार गर्ने मानिसहरुले अकालमै नदीमा बगेर ज्यान गुमाउने गरेका छन्। साउन यता मात्र काठेपूल बाट महाकाली तर्ने क्रममा दुई जनाले ज्यान गुमाएको जिल्ला प्रहरी कार्यालयको तथ्यांक ।