सुदूर नेपाललाई विश्वसँग जोड्दै

ठेकेदारको ‘लापरबाहीले’ सेती अस्पतालको सिटी स्क्यान मेसिन राख्ने भवनको काम सुस्त

२०७७ चैत्र १३, ०७:४४ जनक विष्ट

धनगढीः सेती प्रादेशिक अस्पतालले दिएको ठेक्काअनुसार काम नहुँदा सिटी स्क्यान सेवा सञ्चालनका लागि आवश्यक पर्ने भौतिक संरचना निर्माणमा ढिलाइ भएको छ। 

गत वर्षको असारमा ९ महिनाको म्यादसहित सिटी स्क्यान मेसिन सञ्चालन गर्न आवश्यक पर्ने भवन निर्माणको ठेक्का लिएको इन्द्रधनु अछाम निर्माण सेवाका ढिलासुस्तीका कारण भौतिक संचरना खडा नभएका हुन्।  

निर्माण व्यवसायीले अस्पताल परिसरमै निर्माण भइरहेको भवनको काममा ढिलाइ गरेपछि ९ महिनामा काम सकिनुपर्ने भवनको पिलर हाल्ने काम भर्खर हुदैछ। जबकी बिहीबार निर्माण व्यवसायीले पाएको ९ महिनाको म्याद सकिएको छ। 

१ करोड ४१ लाख रुपैयाँमा ठेक्का लिएको सो निर्माण सेवाले निर्माण स्थलमा रहेका सेफ्टी ट्याङकी र पानी जम्ने समस्याले काममा ढिलाइ भएको दाबी गरिरहेको छ। 

इन्द्रधनु अछाम निर्माण सेवाका प्रतिनिधि ललित कुँवरले निर्माण स्थल १५, १६ वटा सेफ्टी ट्याङ्की खाली गर्नमै सुरुवातको समय बितेको बताए। ट्याङ्की खाली गरेपनि भवनका लागि खनिएको जगमा पानी भरिएको पानी सुकाउन समेत धेरै समय लागेकाले काममा ढिलाइ भएको दाबी गरे।

सेती प्रादेशिक अस्पतालले गत कार्तिकमा सिटी स्क्यान मेसिन खरिदका लागि म्याक्स मेडिटेक प्रालीसँग ६ करोड ४६ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो। सो कम्पनीले सम्झौताअनुसार १ सय २८  स्लाइसको सीटी स्क्यान मेसिन खरिद गरेर ५ महिनाभित्र अस्पताललाई हस्तान्तरण गर्ने सम्झौतामा उल्लेख छ। 

अस्पतालकाअनुसार म्याक्स मेडिटेक प्राली सिटी स्क्यान मेसिन आपूर्ति गर्न तयार भएका बेला भवन निर्माणमा ढिलाइ भएपछि सेवा सञ्चालन गर्न अझै समय लाग्ने भएको छ। 

सेती प्रादेशिक अस्पतालका प्रमुख मेडिकल सुपरीटेन्डेन्ट डाक्टर हेमराज पाण्डले सिटी स्क्यान मेसिनका लागि आवश्यक पर्ने संरचना समयमै निर्माण नहुँदा सेवा सञ्चालनमा ढिलाइ हुने बताए।

उनले ९ महिनामा भवन तयार हुनेगरि ठेक्का लगाएपनि निर्माण व्यवसायीले सो अनुसार काम नगर्दा समस्या भएको बताउँदै पटक पटक ताकेता गर्दै आएको जनाए।

यसै कारण सुरुदेखि विवादित बनेको सिटी स्क्यान सेवा सञ्चालानको विषय थप पछाडी धकेलिने सम्भावना देखिएको छ। भवनका पिलर ठड्याउन मात्र ९ महिना लिएको इन्द्रधनु अछाम निर्माण सेवाले पुनः म्याद थपका लागि निवेदन दिएको छ।

भवनको पिलर ठ्याउन नै ९ महिना लगाएको इन्द्रधनु अछाम निर्माण सेवाले अहिले ३ महिना मात्र काम गर्न पाएकाले ढिलाइ भएको कारण पेश गर्दै थप समय पाउनुपर्ने माग गरेको हो। अब थपिएको म्याद भित्रै काम सम्पन्न गर्ने दाबी उसको छ।  

तर धेरैले यसले विगतदेखि सेती अस्पतालमा कमिसनको प्रलोभनमा सिटी स्क्यान सेवा सञ्चालन गर्न नदिन सक्रिय रहेका गिरोहकै मिलेमतोमा संरचना निर्माणमा ढिलाइ गर्दै आइरहेको आशंका गरेका छन्।   

जनक विष्ट दिनेश एफ. एम. का सम्पादक हुन। उनले राजनीति र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस