एमाले र काँग्रेसको गठबन्धन सरकार बन्दैन: पूर्वमन्त्री साउँद
डडेल्धुरा: नेपाली काँग्रेसका नेता तथा पूर्वमन्त्री एनपी साउँदले एमाले र काँग्रेसको गठबन्धन सरकार कुनै पनि हालतमा नबन्ने बताएका छन्।
बिहीबार प्रेस युनियनले डडेल्धुरामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले अहिलेको सरकार विस्थापित गरेर आफ्नो नेतृत्वमा सरकार गठन गर्नु काँग्रेसको प्राथमिकता भएको बताए।
स्वस्थ तरिकाले सरकारमा जाने तर, अस्वस्थ तरिकाले काँग्रेस सरकारमा नजाने उनको दाबी छ। साथै उनले यो सरकार ढाल्न सकिने जिकिर गरेका छन्।
‘प्रतिपक्षमा सबै भन्दा ठूलो पार्टी हामी हौँ। नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि यो सरकार अल्पमतमा जान्छ’ उनले भने, ‘जनता समाजवादी पार्टीले हामीलाई समर्थन गरिसकेपछि हाम्रो मत एक सय ३८ पुग्छ। र, यो सरकार ढाल्न सकिन्छ।’