ह्वीलचेयरमा मेची-महाकाली यात्रा गरेका रामबहादुरले दिएको सन्देश (भिडिओसहित)
धनगढी: ह्वीलचेयरमा गुड्दै गुड्दै मेचीदेखि महाकालीसम्मको यात्रा पूरा गरेपछि सिन्धुपाल्चोक बलेफीका रामबहादुर तामाङ गोले खुसीले गद्गद भएका छन्।
ह्वीलचेयरमै भविष्यमा अझै लामो यात्रा तय गर्ने संकेत दिँदै गोलेले अपाङ्गता भएका मानिस घरभित्रै सीमित भएर बस्न नहुने र आ-आफ्ना कार्यक्षेत्र र गन्तव्य तर्फ अघि बढ्न हिच्किचाउन नहुने सन्देश दिएका छन्।

फागुन १५ गते मेची नदी किनार झापाको काकडभिट्टाबाट ह्वीलचेयर यात्रा थालेका गोले कोसी, कमला, वाग्मती, नारायणी, तिनाउ, रापती, बबई, कर्णाली जस्ता नदीमाथिका पुलहरू पार गर्दै २६औँ दिन नेपालको पश्चिमी सिमाना महकाली पुगेका थिए।

यात्राको क्रममा पूर्व-पश्चिम राजमार्गमा पर्ने शहर बजारहरूमा गोलेलाई स्वागत सत्कार गरिएको थियो।

१० वर्षअघि (२०६७ साल पुस १८ गते) अरनिको राजमार्गको ५४ किलो भन्ने स्थानमा भएको बस दुर्घटनामा परेर मेरुदण्डमा चोटपटक लागेपछि गोलेको कम्मरभन्दा मुनिको भाग चल्दैन। त्यही दुर्घटनामा उनले एउटा आँखा पनि गुमाएका थिए।
उनी ३८ वर्षका भए। १,०२८ किलोमिटर लामो पूर्व-पश्चिम राजमार्गको ह्वीलचेयर यात्राको क्रममा गोलेलाई उनका आफन्त मानबहादुर तामाङले साथ दिएका थिए। मानबहादुर चाहिँ गोलेसँगै साइकलमा सवार थिए।
हाल उनी मेरुदण्डको चोटपटको उपचार तथा पुन:स्थापना गरिने स्पाइनल इन्जुरी रिह्याबिलिटेशन सेन्टर साँगा, काभ्रेमा पीअर काउन्सेलर अर्थात मनोपरामर्शदाताको रूपमा काम गर्छन्।
बाघको त्रास फैलिएको बर्दिया राष्ट्रिय निकुञ्ज खण्डमा पर्ने राजमार्गमा गोलेलाई नेपाली सेनाले सुरक्षा दिएको थियो।
बिहीवार मेची-महाकाली ह्वीलचेयर यात्रा पूरा गरेर काठमाण्डू फर्किनुअघि रामबहादुर तामाङ गोलेले दिनेशखबरसँग कुरा गरेका थिए।
त्यो कुराकानी समेटिएको भिडिओ हेर्नुहोस्: