सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमः ‘कागजपत्र किर्ते गरी टेण्डर हत्याउने’ व्यवसायीलाई पोषण खरिदको ठेक्का

२०७७ चैत्र १२, ११:५६ जनक विष्ट

धनगढीः सरकारी छाप र दस्तखत किर्ते गरि करोडौँको सरकारी टेण्डर हत्याएको अभियोग लागेका धनगढीका औषधी व्यवसायी दुस्यन्त बस्नेतले सुदूरपश्चिम प्रदेश स्वास्थ्य आपुर्ति व्यवस्थापन केन्द्रबाट पोषण खरिद सम्बन्धिको ठेक्का पाएका छन्।   

प्रदेश स्वास्थ्य आपुर्ति व्यवस्थापन केन्द्रले गत माघमा जारी गरेको २ करोड ८७ लाख बराबरको ठेक्का प्रक्रियामा सहभागी तीन वटा फार्म मध्ये कम रकममा सामान आपुर्ति गर्न इच्छुक कम्पनी हुँदाहँुदै किर्ते गरेर टेण्डर हत्याउने व्यवसायीलाई नै ठेक्का पारेको गुनासो गरिएको छ। 

आपुर्ति व्यवस्थापन केन्द्रले २ करोड ८९ लाख रुपैयाँ लागत अनुमान गरिएको पोषण सम्बन्धीका सामान भ्याट बाहेक १ करोड ७१ लाख रुपैयाँमै आपुर्ति गर्न टेण्डर हालेको काठमाडौँको सुनगाभा सप्लाई एण्ड सर्भिसेज प्रालिले ठेक्का नपाएपछि विवाद सिर्जना भएको छ। 

सुनगाभालाई छलेर २ करोड ७५ लाख रुपैयाँमा टेण्डर हाल्ने बस्नेत सञ्चालक रहेको धनगढीको डिबी मेडिसिन सेन्टरले ठेक्का पाएपछि सो कम्पनीले पुनः मूल्याङकनको माग गरेको छ। सुनगाभा सप्लाई एण्ड सर्भिसेज प्रालिका सञ्चालक डम्बरबहादुर कार्कीले  सबै प्रक्रिया पुगाएर सबभन्दा कम कबोल अंक हाल्दा समेत झण्डै ९२ लाख रुपैयाँ बढि रहेको डिबी मेडिसिनलाई आपुर्ति व्यवस्थापन केन्द्रले ठेक्का पारेको बताए। 

उनले आफूलाई छलेर बढि कबोल अंक राख्ने कम्पनीलाई ठेक्का दिइएपछि पुनः मूल्याङ्नका लागि निवेदन दिएको बताए। आपुर्ति केन्द्रको ठेक्का पाउने डिबि मेडिसिन कर चुक्ता प्रमाणपत्र किर्ते गरेर गेटाँ आँखा अस्पतालको औषधी खरीदको टेण्डर हत्याउने धनगढीकै दुस्यन्त बस्नेत सञ्चालक रहेको फार्म हो।

सरकारी छाप र दस्तखत किर्ते गरि करोडौं राजश्व ठगी गरेको आरोपपछि पक्राउ परेका उनलाई गत वर्षको फागुनमा हिरासतमा नराखेरै प्रहरीले एक लाख १० हजार रुपैयाँ धरौटीमा छोडेको थियो। तर स्वास्थ्य आपुर्ति व्यवस्थापन केन्द्रले भने सुनगाभा सप्लाई एण्ड सर्भिसेज प्रालिले डिबी मेडिसिन भन्दा कम मूल्यमै कुपोषणबाट बालबालिकालाई जोगाउन दिइने खाद्य सामग्री आपुर्ति गर्ने गरि टेण्डर हालेको भएपनि माग गरिए बमोजिमका कागजपत्र पेश गर्न नसकेका कारण ठेक्का दिन नसकिएको जनाएको छ। 

आपुर्ति व्यवस्थापन केन्द्रको भनाईमा सो कम्पनीले यसअघि पोषण सम्बन्धि सामाग्री आपुर्ति आफैले गरेको अनुभव भएको प्रमाण पत्र स्वयंमले पेश गर्नुपर्नेमा छुट्टै फार्मको सर्टिफिकेट पेश गरेको, ३ वर्ष अघि सामान आपुर्ति गरेको सर्टिफिकेट पेश गर्नुपर्नेमा पूरानो तर छुट्टै फार्मबाट पेश गरेको, स्वास्थ्य मन्त्रालयको खरिद प्रक्रियामा सहभागी भएपनि आफैले आपुर्ति नगरेको जस्ता कारणबाट ठेक्काका लागि छनोट गर्न नसकेको हो। 

स्वास्थ्य आपुर्ति व्यवस्थापन केन्द्रका निमित्त प्रमुख पदम बिष्टले खरिद प्रक्रियामा भाग लिएका तीन वटा मध्ये ब्लुमन मेडिटेथ फर्माले लागत स्टमेटमै त्रुटी गरेपछि मूल्याङकन प्रक्रियामा भाग नलिएको, सुनगाभाले भाग लिएपनि आवश्यक पर्ने कागजपत्र पेश गर्न नसकेका कारण डिबी मेडिसिनले स्वतः ठेक्का पाएको बताए।

उनले सुनगाभाले अलग्गै कम्पनी मार्फत टेण्डर पेश गर्नु पनि उनी बाहिरिनुको कारण भएको जनाए। तर सुनगाभाले भने, आपुर्ति व्यवस्थापन केन्द्रले माग गरेको पोषण सम्बन्धीका सामानहरु नेपालमा उत्पादन नहुने भएकाले अहिले ठेक्का पाएको डिबी मेडिसन पनि अन्यत्रबाट सप्लाइ गर्ने भएकाले रकमका आधारमा आफैले ठेक्का पाउनुपर्ने दाबी गरेको छ। 

सञ्चालक कार्कीले सामान आपुर्ति गर्न नसकेको खण्डमा आफूहरु कारवाही भोग्न तयार रहेको अवस्थामा छलेर ठेक्का दिइएकाले पुर्नमूल्याङन हुनुपर्ने नभए थप कदम चाल्ने चेतावनी दिए। स्वास्थ्य आपुर्ति व्यवस्थापन केन्द्रले पुनः मूल्याङकन सम्भव नभएको जनाएको छ भने उक्त कम्पनीलाई माथिल्लो निकायमा जादा आफूहरु पनि स्पष्ट हुने मौका पाउने निमित्त प्रमुख  बिष्ट बताउँछन्। 

यसअघि एम्बुलेन्स, भेन्टिलेटर लगायतका स्वास्थ्य सामाग्री आपुर्तिमा समेत मिलेमतोमा ठेक्का पार्दै अनियमिततामा मुछिएको स्वास्थ्य आपुर्ति व्यवस्थापन केन्द्रले अनियमितता गर्र्ने बदनियतले पछिल्लो ठेक्का लगाएको आरोप लागेको छ। 

जनक विष्ट दिनेश एफ. एम. का सम्पादक हुन। उनले राजनीति र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस