कञ्चनपुरमा ५ दिने योग शिविर सम्पन्न, २ हजार बढीले गरे योगाभ्यास
कञ्चनपुरः कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका १० झलारीमा योग शिविर सम्पन भएको छ।
श्री कृष्ण माध्यमिक विद्यालय परिसरमा सञ्चालित ५ दिने योग शिविर सोमबार सम्पन्न भएको हो। शिविरमा बालबालिकादेखि जेष्ठ नागरिकहरूको उत्साहजनक सहभागितामा रहेको थियो।
शिविर अवधिमा २ हजारभन्दा बढी योग साधकहरूले सहभागिता जनाएको पतञ्जली योग समिति शुक्लाफाँटाका नगर अध्यक्ष केशव दत्त अवस्थीले बताए।
उनका अनुसार योग शिविरमा सशस्त्र प्रहरी, जनप्रतिनिधि, नगरभित्र रहेका प्रभुत्व वर्ग, महिला, व्यवसायी, शिक्षक, राजनीतिकर्मी, समाजसेवीलगायतको उपस्थिति रहेको थियो।
समापन कार्यक्रमलाई सम्बोधन गर्दै शुक्लाफाँटा नगरपालिकाका नगर प्रमुख दिलबहादुर ऐरले योग मानव जीवनको अभिन्न अङ्गको रूपमा रहदै आएको बताए। मानव शरीरलाई स्वस्थ्य र निरोगी बनाउन योगाभ्यास अपरिहार्य रहेको उनको भनाइ थियो।
कार्यक्रममा बोल्दै पतञ्जली योग समिति कञ्चनपुरकी महिला अध्यक्ष कमला पाण्डेले मानव शरीरको सर्वाङ्गिण विकास गरेर मानिसको संस्कार र चरित्र निर्माणमा समेत योग साधनाले विशेष भुमिका खेल्न सक्ने बताइन्।
हरेक बिहान २ घण्टा योगाभ्यास गरेर जथाभावी खानपिनलाई नियन्त्रण गरे जीवनमा चमत्कारिक परिवर्तन पाइने उनले बताइन्।