सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको शैक्षिक शुल्क समायोजनको असर के-कस्तो

२०७७ चैत्र ८, ०१:१८ जनक विष्ट

धनगढीः कैलाली बहुमुखी क्याम्पसमा बीबीए अध्ययनरत विद्यार्थी ४ लाख ३० हजार रुपैयाँ शैक्षिक शुल्क तिर्दै आएका थिए। यो कैलाली बहुमुखी क्याम्पस सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको आंगिक क्याम्पस बन्नुअघि विद्यार्थीले तिरिरहेको शुल्क हो। 

तर क्याम्पसले सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको आंगिकता प्राप्त गरिसकेपछि समायोजन गरिएको शुल्कलाई हेर्दा अब विद्यार्थीहरुले २ लाख ७ हजारमै बीबीए अध्ययन गर्न पाउने भएका छन्। जुन यसअघि विद्यार्थीहरुले तिर्दै आएको शुल्कको २ लाख २३ हजारले कम हो। 

‘आर्थिक हिसाबले हेर्नुपर्दा पहिले भन्दा अहिले साविकको भन्दा ५० प्रतिशत भन्दा कम शैक्षिक शुल्क छ,’कैलाली बहुमुखी क्याम्पसको बीबीए कार्यक्रमका संयोजक प्राध्यापक दिनेश पौडेल भन्छन्, ‘यसअघि विद्यार्थीहरुले प्रती सेमेष्टर मोटामोटी ५० देखि ६० हजार रुपैयाँसम्म तिर्नुपथ्र्यो। अहिले भने २५ हजारको हारहारीमा मात्र तिर्नुपर्ने देखिन्छ। यसले आर्थिक अवस्था कमजोर भएका विद्यार्थी पनि बीबीए अध्ययन गर्न सक्ने भएका छन्।’ 

पौडेलको भनाईमा गत वर्ष प्रवेश परीक्षामा सफल भएका धेरै विद्यार्थीहरु समेत शुल्ककै कारण बीबीए अध्ययन गर्नबाट वञ्चित भएका थिए। शुल्क तिर्न नसक्ने भएका कारण उनीहरु भर्ना हुन नसकेपछि अध्ययनबाट वञ्चित भएका हुन्।

कैलाली बहुमुखी क्याम्पस त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पसका रुपमा सञ्चालन भइरहेका बेला बीबीए कार्यक्रममा कुल ३३ जना विद्यार्थी मात्रै अध्ययन गर्न पाउँथे तर अब भने त्यो संख्या बृद्धि भएर ९० जना पुगाइएको छ। त्यसमा पनि २५ प्रतिशत विद्यार्थीले पूर्ण छात्रवृत्ति पाउने व्यवस्था गरिएपछि विद्यार्थीहरुलाई थप सहज हुने भएको छ। 

सुदूरपश्चिमाञ्चल विश्वविद्यालय प्रशासनकाअनुसार बीबीए कार्यक्रमको प्रति सेमेस्टरको शुल्क धरौटी रकम बाहेक २३ हजार ९ सय रुपैयाँ मात्र निर्धारण गरिएको छ। विश्वविद्यालयको केन्द्रीय क्याम्पससहितका १६ वटा क्याम्पसमा सोही शुल्क लिन पाइनेछ। 

कैलाली बहुमुखी क्याम्पस मात्र नभएर अन्य १४ वटा आंगिक क्याम्पस, बीबीए कार्यक्रम भएकाको हकमा अहिले समोजन गरिएको शुल्क आधाले कम हो। तर अन्य क्याम्पसलाई सम्बन्धन दिनु पूर्व केन्द्रीय क्याम्पसमा बीबीए अध्ययन गरिरहेका विद्यार्थीको हकमा पनि शुल्क केही बढि भएको देखिन्छ। 

प्रती सेमेष्टर १७ हजार ७ सय रुपैयाँ शुल्क तिर्दै आएका विद्यार्थीले अबदेखि अन्य विद्यार्थी सरहकै शुल्क तिर्नुपर्ने हुन्छ। बीबीए मात्र नभएर अन्य संकायमा पनि केन्द्रीय क्याम्पसको हकमा शुल्क बृद्धि भएपनि समग्रमा हेर्दा सबै विद्यार्थीलाई न्यायोचित भएको तर्क गरिन थालिको छ। 

२०५७ सालको शुल्क सोझै बृद्धि हुँदा समस्या 

कैलाली बहुमुखी क्याम्पससहित सुदूरपश्चिमका १५ वटा क्याम्पसले सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको सम्बन्धन प्राप्त गरेपछि विद्यार्थीको ढाड सेक्नेगरि शुल्क निर्धारण गरिएको भन्दै विद्यार्थी संगठनहरु आन्दोलित भएका छन्। 

उनीहरुले विश्वविद्यालयका उपकुलपतिसहितका पदाधिकारीका सवारीसाधन नियन्त्रण लिएर चावी समेत थुतेका छन् भने बृद्धि गरिएको शुल्क नघटाउँदा सम्म भन्दै केन्द्रीय कार्यालयमा प्रवेश निषेध गरेका छन्। 

तर विश्वविद्यालयले भने समायोजन भएका समेतका क्याम्पसमा एकरुपता ल्याउन शुल्क निर्धारण गरिएको र सोही क्रममा सिद्धनाथ बहुमुखी क्याम्पस हुने बेला २०५७ सालदेखि हाल विश्वविद्यालय भइसकेको अवस्थामा समेत लिइरहेको केन्द्रीय क्याम्पसको शुल्क पनि बृद्धि भएको बताएको छ। 

‘हाम्रा १६ वटा क्याम्पस भइसकेपछि सबै क्याम्पसहरुको शैक्षिक कार्यक्रमको शुल्कमा एकरुपता गराउने हिसाबले शुल्क समायोजन गरेका हौँ,’सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका निमित्त रजिष्टार गोबिन्द बिष्टले दिनेशखबरसँग भने, ‘तत्कालीन सिद्धनाथ बहुमुखी क्याम्पसको २०५७ मा निर्धारण भएको शुल्कमा अहिले पुनरावलोकन हुँदा केही बढि जस्तो लागेको हो। तर अन्य क्याम्पसमा घटेको छ।’

विश्वविद्यालयले सबै आंगिक क्याम्पसको शैक्षिक शुल्क एकरुप हुनुपर्छ भन्ने उद्देश्यअनुसार नै समायोजन गरिएको जनाएको छ।

 यस्तो छ पहिले र अहिलेको शुल्कबीचको अन्तर 

 

भर्ना पूर्व जानकारी नगराएको आपत्ती 

बृद्धि गरिएको शुल्क फिर्ता गर्नुपर्ने माग राख्दै आन्दोलित भएका विद्यार्थी संगठनहरुले अहिले भने भर्ना हुनु पूर्व जानकारी नदिएकोमा आपत्ती रहेको प्रतिक्रिया दिएका छन्। 

नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पस सिद्धनाथ बहुमुखी क्याम्पसका इकाइ अध्यक्ष गणेश मिश्रले बृद्धि भएको शुल्कबारे विद्यार्थी भर्ना हुनु भन्दा पहिले जानकारी नगराउदा आन्दोलन गर्नुपरेको बताए।

‘भर्ना हुनु भन्दा १/२ महिना पहिले शैक्षिक शुल्कको विवरण सार्वजनिक गर्नुपर्छ,’मिश्रले भने, ‘कुनै विद्यार्थीलाई प्रवेश परीक्षा दिँदा शुल्क २८ सय भनिन्छ। जब भर्ना हुन जान्छ त्यतिखेर ४७ सयको रसिद काटेर ल्याउनुस भन्नु सरासर अन्याय भएन र ?’

शुल्क बृद्धि गरिनु हुँदैन् भन्नेमा आफू नरहेको उल्लेख गर्दै मिश्र भन्छन्, ‘प्रत्येक वर्ष ५ प्रतिशतका दरले पनि बढाउन सकिन्छ नी। समायोजनको नाममा विद्यार्थीको ढाडसेक्नेगरि एक्कासी शुल्क तोक्नु भए नी।’

हालै बसेको विश्वविद्यालय सभाले केन्द्रीय क्याम्पस सहित सम्बन्धन प्राप्त सबै क्याम्पसमा लागु हुनेगरी शुल्क निर्धारण गरेको थियो। सो शुल्कले विद्यार्थीलाई मर्का परेको भन्दै विद्यार्थी संगठनहरु आन्दोलित भएका छन्।

जनक विष्ट दिनेश एफ. एम. का सम्पादक हुन। उनले राजनीति र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस