कांग्रेस नेता जोशीको स्वास्थ्य लाभका लागि उग्रतारा मन्दिरमा पूजा
डडेल्धुरा: नेपाली कांग्रेसका केन्द्रीय सदस्य पूर्वमन्त्री नविन्द्रराज जोशीको स्वास्थ्य लाभको कामना गर्दै शक्तिपिठ मानिने डडेल्धुरास्थित उग्रतारा भगवतीको मन्दिरमा पूजा अर्चना गरिएको छ।
अचानक मस्तिष्कघात भएपछि गत फागुन १४ गतेदेखि राजधानीस्थित नर्भिक अस्पतालमा उपचार गराइरहेका नेता जोशीको सिघ्र स्वास्थ्य लाभको कामना गर्दै उग्रतारा मन्दिरमा संकल्पसहित सम्पुठित शप्तशति पाठ गरिएको नेपाली कांग्रेस डडेल्धुराका सभापति तथा सुुदूरपश्चिम प्रदेश सभाका सांसद कर्णबहादुर मल्लले बताए।
नेपाल शिक्षक संघ डडेल्धुराको २१औं र २२ औं जिल्ला प्रतिनिधी सभाको समुद्घाटन गर्न डडेल्धुरा आइपुगेका नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य, संविधान सभा सदस्य समाजवादी नेता मनमोहन भट्टराईसहित नेपाली कांग्रेस डडेल्धुराका जिल्लास्तरीय नेता कार्यकर्ताहरुको सहभागितामा पूजा अर्चना गरिएको हो।
नेता जोशीको पुख्यौली घर उग्रतारा मन्दिर नजिकैको तिलाडी गाउँमा छ। गम्भिर स्वास्थ्य अवस्थामा रहेका नेता जोशीको स्वास्थ्य अवस्थामा तत्काल सुधार आउने विश्वासका साथ पूजाअर्चना गरिएको नेपाली कांग्रेस डडेल्धुराका कार्यालय सचिव रामबहादुर बिष्टले बताए।