सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुराको दुर्गम चुडी गाउँमा लघु जलविद्युत आयोजना निर्माण सुरु हुने

२०७७ चैत्र ७, ०५:४४ खबर संवाददाता

डडेल्धुरा: डडेल्धुराको भागेश्वर गाउँपालिकाको–१ चुडी गाउँमा चम्गाड लघु जलविद्युत आयोजना निर्माण सुरु हुने भएको छ। 

ग्रामीण महिला विकास तथा एकता केन्द्र(रुडुक) काठमाडौं र अक्सफाम नेपालको उज्यालो परियोजना अन्तरगत निर्माण हुने उक्त कार्यक्रममा भागेश्वर गाउँपालिकाको समेत साझेदारी रहने बताइएको छ। 

दुर्गम नदी तटिय बस्ती चुडी गाउँमा महाभारत पर्वतबाट बग्ने चम्गाडबाट ल्याइएको ३ दशमलव ५ किलोमिटर लामो पक्की कुलोलाई सिंचाईसहित लघुजलविद्युत प्रयोजनका लागि प्रयोग गरिने परियोजनासँग आवद्ध अक्सफामका ईन्जिनियर एन्जील अधिकारीले बताइन। 

उक्त आयोजनाबाट गर्मीमा २० देखि २५ र वर्षातमा ४५ देखि ५० किलोवाट विद्युत उत्पादन हुने उनको दाबी छ। 

लघु जलविद्युत आयोजनाको शुभारम्भ कार्यक्रममा बोल्दै भागेश्वर गाउँपालिकाकी अध्यक्ष कौशिला कुमारी भट्टले आयोजनाले आफ्नो अभियानलाई समेत सहयोग गर्ने भएकाले उत्पादित बिजुलीलाई प्राथमिकताका आधारमा सम्बन्धित गाउँ र अन्य गाउँहरुमा समेत बिस्तार गर्न सहयोग गर्ने बताइन। 

यस्तै रुडुकका राष्ट्रिय निर्देशक डा. कृष्ण कुमार श्रेष्ठले परियोजनाको कूल लागत जनश्रमदानसहित १ करोड रहने बताए। उनले भागेश्वर गाउँपालिकाको पनि सहकार्य आवश्यक रहेको बताएका छन्। 

केही दिनमै सर्वेसहित आयोजना निर्माणको कार्य थालनी गरी २०२१ भित्रै समुदायमा बिजुली बाल्ने लक्ष्य रहेको रुडुकका कार्यक्रम अधिकृत अमर साउदले बताए। 


 

कमेन्ट लोड गर्नुस