सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलाली भन्सारमा हप्तौंसम्म ‘गाडी पास’ कुर्छन् मालवाहक सवारी, आर्थिक चलखेलको आशंका

२०७७ चैत्र ३, ०७:५० रोशन भट्ट

धनगढी : सुदूरपश्चिमकै प्रमुख व्यापारिक नाका त्रिनगर–गौरीफन्टाबाट साना तथा ठूलो गरि दैनिक २ दर्जन बढी मालवाहक गाडीहरु नेपाल प्रवेश गर्ने गर्दछन्।

तरकारी, फलफूल, खाद्यान्न, लुगा कपडालगायत कानून अनुसार ल्याउन मिल्ने विभिन्न काठजन्य वस्तु तथा कच्चा पदार्थ त्रिनगर नाकाबाट आयात हुन्छ। तर भन्सार बिन्दुमा पुगेकै दिन ती गाडीहरु कैलाली भन्सार कार्यालयबाट पास गर्न समस्या हुन थालेको गुनासो सेवाग्राहीहरुको छ। 

भन्सार कार्यालयमा कर्मचारीले अनेक बहाना बनाएर झेलाउने गरेको तथा आर्थिक असुली गर्ने मनसायले समेत दुःख दिने गरेको भन्सारमा भेटिएका मालवाहक सवारी चालकसहित सेवाग्राहीले बताएका छन्। 
‘पैसा नतिरेर होला हाम्रो गाडी ४ दिनसम्म पास भएको छैन,’ एक जना भारतीय मालवाहक गाडी चालकले भने।

सुदूरपश्चिम मात्र नभएर यो नाकाबाट भित्रिने मालवाहक गाडीहरु अन्य प्रदेशमा समेत पुग्ने गरेकाले लामो समयसम्म भन्सारमै थन्किँदा हैरानी मात्र खेप्नु परेको छैन कि प्रतिकुल मौसमका कारण कतिपय सामान कुहिने, सड्ने समस्या पनि छ। 

आवश्यक कानूनी प्रक्रिया पुरा हुँदापनि आर्थिक चलखेलका कारण भन्सारका कर्मचारीले वेवास्ता गर्ने गरेको आरोप उनीहरुको छ। विगतमा सोही सामान बोक्ने गाडीहरु पास हुने गरेको भएपनि अहिले प्रक्रिया पुगाउदा समेत ढिलाइ हुने गरेको छ। 

कैलाली भन्सार कार्यालयले भने भारतबाट आयात हुने सामान चेकजाँच तथा परीक्षणका लागि सम्बन्धित निकायमा पठाउनु पर्ने हुँदा केही ढिलाइ हुने गरेको जनाएको छ। सेवाग्रहीकै काजगपत्र अपुर्ण हुने गरेका कारण गाडी रोकिने गरेको कैलाली भन्सार कार्यालयका भन्सार अधिकृत परमानन्द जोशीले बताए।

‘हाम्रो हातबाट ढिलाइ हुने गरेको छैन,’ उनले भने ‘भन्सारको प्रक्रियाले नै ढिलाइ हुन्छ कहिले काहीँ।’
 

रोशन भट्ट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस