सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा उपनिर्वाचनमा नेकपाबाट निर्वाचित ५ वडाध्यक्ष कतातिर ?

२०७७ फाल्गुन २८, ०६:५२ रोशन भट्ट

धनगढीः २०७४ सालमा भएको प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा नेकपा एमाले र माओवादी केन्द्रले वाम गठबन्धन गरेर चुनाव लडेका थिए। त्यो भन्दा अगाडि स्थानीय तहको चुनाव एक्ला–एक्लै लडेका दुवै पार्टीले प्रदेश र प्रतिनिधि सभाको निर्वाचनको समयमा भने गठबन्धन गरेका हुन्। 

एमाले र माओवादी केन्द्रको एकीकरण भने निर्वाचनपछि भएको हो। चुनाव चिन्ह सुर्यसहित मिलेर बनेको नेकपालाई फागुन २३ गतेको सर्वोच्च अदालतको फैसलाले फेरी पुरानै ठाँउमा पुगाएको छ। तर पार्टी एकीकरणपछि भएको उपनिर्वाचनमा नेकपाबाट बिजयी सुदूरपश्चिमका ५ वडाध्यक्षको अब अवस्था के हुने भन्ने प्रश्न उठ्न थालेको छ। 

२०७४ मा भएको स्थानीय तहको निर्वाचनबाट चुनिएका जनप्रतिनिधिहरु मध्ये केहीको मृत्यु भएको थियो भने केही वडाध्यक्षहरुको पद अन्य कारणले पनि रिक्त थियो। सोही पदपूर्ति पुरा गर्न २०७६ सालमा उपनिर्वाचन भएको थियो।

सुदूरपश्चिमका ५ जिल्लामा ७ वडाध्यक्षका लागि भएको निर्वाचनमा २ स्थान बाहेक अन्य ५ ठाँउमा तत्कालीन नेकपाका उम्मेदवार विजयी प्राप्त गरेका थिए। 

सर्वोच्च अदालतको फैसलाले एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपा पार्टी नै नरहेको ठहर गरेपछि सुदूरपश्चिमका ५ वडाध्यक्ष कुन पार्टीका हुन भन्ने चासो बढेको छ।  

तर पार्टी एकीकरण हुन भन्दा अगाडि नेकपामा एमालेमा रहेका कञ्चनपुरका पुनर्वास नगरपालिका वडा नम्बर ३ बाट बिजयी भएका तत्कालीन नेकपाका उम्मेदार कृष्ण तामाङले सर्वोच्चको फैसलापछि आफु नेकपा एमालेबाट बिजयी वडाध्यक्ष रहेको बताए।

‘पार्टीले नेकपाबाट चुनाव लडेकाहरुलाई एमाले र माओवादी केन्द्र मध्ये एउटालाई छान्नुहोस् भनेको छ,’ उनले भने, ‘धेरै साथीहरले पुरानै पार्टी छानेका छनु मैले पनि एमाले नै छानेको छु।’ 

२०७६ मा सुदूरपश्चिमका ७ स्थान बाजुराको त्रिवेणी नगरपालिका–१, अछामको मल्लेख गाउँपालिका–५, बैतडीकै सुर्नया गाउँपालिका–१, डोटीको आदर्श गाउँपालिका २, बैतडीको दोगडाकेदार गाउँपालिका–४, बैतडीको पुर्चौडी नगरपालिका–४ र कञ्चनपुरको पुनर्वास नगरपालिका ३ मा उपनिर्वाचन भएको थियो।

बैतडीको सुर्नया गाउँपालिका १ दोगडाकेदार ४ मा नेपाली कांग्रेसका उम्मेदारले बिजयी हासिल गरेपनि अन्य ५ ठाँउमा भने तत्कालीन नेकपाले जितेको थियो।

‘तत्कालीन अवस्थामा हामी नेकपाबाट चुनाव लडेका हौं,’ अछामको मेल्लेख गाउँपालिका ५ मा नेकपाबाट विजयी वडाध्यक्ष रमेश खड्काले भने, ‘सर्वोच्चको फैसलापछि म पनि आफुलाई माओवादी केन्द्रबाट निर्वाचित वडाध्यक्ष भन्छु।’

निर्वाचन आगोगले पनि नेकपाबाट विजयी वडाध्यक्षको हकमा आफुहरु नबोल्ने जनाएको छ। ‘त्यो समस्याको राजनीतिक ढंगले समाधान खोज्नु पर्छ,’ आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले दिनेशखबरसँग भने, ‘होइन भने कानुनी बाटोमा जानुपर्छ तर हामी यसमा केही बोल्दैनौं।’
 

रोशन भट्ट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस