सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरामा देखिन थाले लोप हुँदै गएका प्रकृतिका कुचिकार गिद्ध

२०७७ फाल्गुन २५, ०३:५३ खबर संवाददाता

डडेल्धुरा: पछिल्लो समयमा लोप हुँदै गएका गिद्धहरू डडेल्धुरामा देखिन थालेका छन्। गिद्धका बथान डडेल्धुराका ठूला पहाड, भीरपाखामा दैनिकजसो देखिन थालेका हुन्। 

कुनै बेला डडेल्धुराका सबैजसो ठाउँमा देखिने गिद्ध हराएपछि लोप भएको हुनसक्ने चिन्ता स्थानीयको थियो। तर आजभोलि डडेल्धुराको नवदुर्गा गाउँपालिकाका विभिन्न क्षेत्रमा हुलका हुल गिद्ध देखापर्न थालेको स्थानीय रमेश बोहराले बताए। 

प्रकृतिको कुचिकार मानिने गिद्धलाई वातावरणीय प्रदूषणबाट मानव जातिलाई बचाउन सहयोग गर्ने पक्षीको रूपमा लिने गरिन्छ। ‘डाइक्लोफेनिक’ औषधी सेवन गरेका पशु मरेपछि तिनको सिनो खाँदा गिद्धमा त्यसको प्रत्यक्ष असर पर्ने गर्छ। 

मानवीय सचेतनासँगै जथाभावी फालिने सिनो गाड्ने तथा व्यवस्थित रूपमा राख्न थालिएपछि जिल्लामा गिद्धलाई आहारा नपुगेको र जनसंख्या वृद्धिसँगै मानवीय अतिक्रमण बढ्दै गएकाले यसको संख्या कम भएको अनुमान छ।

डडेल्धुरामा पंक्षी हेर्ने छुट्टै कार्यालय छैन। लोप हुने सँघारमा पुगेको गिद्ध नवदुर्गा तथा गन्यापधुरामा गाउँपालिकामा देखिन थालेकाले स्थानीय सरकार र सरोकारवाला निकायले संरक्षणमा ध्यान दिनुपर्ने माग स्थानीयको छ। 
 

कमेन्ट लोड गर्नुस