सुदूर नेपाललाई विश्वसँग जोड्दै

‘नारी जगाउन विद्यार्थीको भूमिका’

२०७७ फाल्गुन २४, ०५:३३ खबर संवाददाता

डडेल्धुरा:  अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा डडेल्धुरामा विद्यार्थीलाई प्रशिक्षणात्मक अन्र्तक्रिया कार्यक्रम गरिएको छ। 

१११औं अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा जिल्लाको अमरगढी नगरपालिका क्षेत्रका विभिन्न विद्यालयमा कक्षा ९ देखि स्नातक तहसम्म अध्ययनरत करिब ७५ जना विद्यार्थीलाई नारी दिवसको सान्दर्भिकता, महिला अधिकार, जिम्मेवारी तथा कर्तव्य र विद्यमान कानूनी व्यवस्थाका बारेमा अन्तक्रिया गरी जानकारी दिइएको छ। 

दिवसको अवसर पारी प्राज्ञिक विद्यार्थी परिषद् नेपाल डडेल्धुराको अमरगढी शाखाद्वारा आयोजित कार्यक्रमका प्रमुख अथिति अमरगढी नगर उपप्रमुख संगिता भण्डारीले विद्याथीहरु समाज परिवर्तनका संवाहक भएकाले विवेकशिल हुनुपर्ने, जिम्मेवार  र सचेत पनि हुनुपर्ने बताउँदै आफू सुरक्षित हुनका लागि आफना क्रियाकलापहरु प्रति बढी ध्यान दिनुपर्ने बताइन।

यस्तै जिल्ला अदालत वार इकाईका कोषाध्यक्ष तथा महिला मुक्ति समाजकी अध्यक्ष आरती जोशीले विद्यार्थीहरुले बढी समय आफनो शैक्षिक प्रगतिका लागि दिनुपर्ने बताइन।  

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक यज्ञराज भट्टले समुदाय प्रहरी साझेदारी कार्यक्रममार्फत समाजलाई सुरक्षित गर्न, शान्ति र अमनचयन कायम गर्नेतर्फ लक्षित भएका कार्यक्रमहरु संचालन भइरहेकाले यसको सकारात्मक सन्देशबाट विद्यार्थी पनि लाभान्वित हुनुपर्ने बताएका छन्।

उनले विद्यार्थीहरु बढी सचेत हुनु जरुरी रहेको बताउँदै महिला हिंसा सम्बन्धी घटना, दण्ड सजाय, कानूनी उपचार र व्यक्तिगत सुरक्षा तथा सचेतनाका बारेमा जानकारी गराएका थिए। 

पतंजली योग बिज्ञान शिविर संचालन हुने योगहल कीर्तिपुर डडेल्धुरामा सम्पन्न कार्यक्रममा विद्यार्थीहरुले प्रयोग गर्ने आधुनिक प्रविधि मोबाइल र त्यसमा उपलब्ध विभिन्न एप्स तथा सामाजिक सञ्जालको दुरुपयोगबाट विद्यार्थी लगायत महिलाहरु बढी असुरक्षित भएको बताउँदै नारी दिवसकै उपलक्ष्यमा यस्ता अभिमुखिकरण कार्यक्रमहरु प्रभावकारी हुने अपेक्षा राखेको परिषद्का जिल्ला संयोजक दिनेश पनेरुले बताए। 

अमरगढी सहसंयोजक सरस्वती जैसीको अध्यक्षतामा सम्पन्न अन्तरक्रिया कार्यक्रमका सहभागी विद्यार्थीले आफूहरुले नारी दिवसको महत्व, औचित्य र महिला अधिकार तथा सुरक्षाका बारेमा अपूर्व ज्ञान प्राप्त गरी लाभान्वित भएको बताएका छन्। 

 
 

कमेन्ट लोड गर्नुस