पसलमा मूल्य सूची राख्दैनन् डडेल्धुराका व्यापारी
डडेल्धुरा: डडेल्धुराका व्यापारीहरुले आफ्नो पसलमा मूल्य सूची नराख्ने गरेको पाइएको छ। जिल्ला सदरमुकामका बागबजारदेखि ग्रामीण क्षेत्रमा रहेका पसलहरुमा मूल्य सूची नराखेको पाइएको हो।
घरेलु तथा साना उद्योग कार्यालय डडेल्धुराको अगुवाईमा गरिएको बजार अनुगमनका क्रममा जिल्ला सदरमुकामका पसलहरुमा व्यापारीहरुले मूल्य सूची नराखेको पाइएको छ।
जिल्ला सदरमुकामको बागबजार सहितका अन्य बजारमा केही पसलहरुमा मात्रै मूल्य सूची राखेको पाइएको घरेलु तथा साना उद्योग कार्यालय प्रमुख केशव भण्डारीले बताए।
सदरमुकामकै पोखरा बजारसहित ग्रामीण क्षेत्रका लालढुंगा बजार, आलिताल गाउँपालिकाको घरेलु र गोदाम बजारका पसलहरुमा मूल्य सूची नराखेको पाइएको उनले बताए।
कतिपय पसलहरुमा राखिएको मूल्य सूची पनि स्पष्ट रुपमा देखिने गरी राखिएको छैन। यसरी व्यापारीहरुले पसलमा मूल्य सूची नराख्दा उपभोक्ताहरु ठगिने गरेको घरेलु तथा साना उद्योग कार्यालयले जनाएको छ।
पसलमा अनिवार्य रुपमा मूल्य सूची राख्नुपर्ने भएपनि नियमित रुपमा बजार अनुगमन नहुँदा व्यापारीहरुले मूल्य सूची नराख्ने गरेको उभोक्ताहरुको गुनासो छ।