सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिम प्रदेशको बीउबिजन सम्बन्धी विद्येयक पारित

२०७७ फाल्गुन २३, ०६:२१ रासस

सुदूरपश्चिम: सुदूरपश्चिम प्रदेशसभाको आजको बैठकमा ‘सुदूरपश्चिम प्रदेशको बीउबिजन सम्बन्धी व्यवस्था गर्न बनेको विद्येयक’ पारित भएको छ । 

भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनितादेवी चौधरीले सो विद्येयक पारित गरियोस् भनी बैठकमा प्रस्ताव पेश गरेकी थिइन् । यसअघि सो विद्येयकमाथि बैठकमा भएको छलफलमा प्रदेशसभा सदस्य बलबहादुर सोडारी, डिल्लीराज पन्त र मानबहादुर धामीले भाग लिएका थिए । 

छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री चौधरीले आगामी तीन वर्षमा प्रदेशलाई विभिन्न बालीको बीउबिजनमा आत्मनिर्भर बनाउने सरकारको नीति रहेको स्पष्ट पारे । 

बैठकको प्राम्भमा समसामयिक विषयमा बोल्न दिइएको शून्य समयमा प्रदेशसभा सदस्य पूर्णा जोशीले प्रदेशमा पछिल्ला दुई वर्षयता महिला तथा बालबालिकामाथि हत्या, हिंसा जस्ता घटना बढ्दै गएको भन्दै यस्ता घटना हुन नदिन विगतमा मुख्यमन्त्रीबाट साझा कानून ल्याउन गरिएको प्रतिबद्धता कार्यान्वयन गर्न ध्यानाकर्षण गराइन् । उनले बैठकको विषेश समय र शून्य समयमा उठान भएका विषयको सम्बोधन गर्न पनि माग गरिन् ।

प्रदेशसभा सदस्य शान्ति नेपालीले प्रदेशमा दैनिक उपभोग्य सामग्रीमा बढ्दै गएको महङ्गी नियन्त्रण हुन नसक्दा गरीब जनतामा पीडा थपिँदै गएको भन्दै महङ्गी नियन्त्रणमा पहल गर्न माग गरिन् । उनले महिलामाथि भइरहेका हिंसाका घटना रोक्न आवश्यक पहल गर्न पनि सरकारको ध्यानाकर्षण गराइन् । 

अर्का सदस्य सुशीला बुढाथोकीले यही फागुन २२ गते धनगढीको फर्निचर उद्योगमा भएको आगलागीबाट धनमालको नोक्सानी भएको भन्दै पीडितलाई राहत दिन र कैलाली जिल्लामा रहेको हुलाकी राजमार्गको स्तरोन्नति गर्ने गराउनेतर्फ ध्यान दिन माग गरिन् । 

सभामुख अर्जुनबहादुर थापाले विशेष र शून्य समयमा उठान भएका विषय सम्बोधनको व्यवस्थाका लागि ‘रुलिङ’ गरे।

कमेन्ट लोड गर्नुस