बाजुराकाे दुर्गम गाउँमा गएर सेवा दिँदै कैलालीकी डा. जस्मीता
बाजुरा: बाजुराको दुर्गम गाउँपालिका जगन्नाथको जुठ्ठिमा महिला चिकित्सक सेवा प्रभावकारी बन्दै गरेको छ। वर्षौदेखि रोग पालिरहेका बिरामीले अहिले उपचार सेवा पाइरहेका छन्।
डा. जस्मीता बलमपाकी अहिले दुर्गमका बिरामीलाई सेवा दिन व्यस्त छिन्। दुर्गममा चिकित्सक नबस्ने समाचार आइरहदा महिला चिकित्सक बलमपाकी भने जगन्नाथमा पुगेर सेवा दिइरहेकी छिन्।
 
    
  उनी भखैरै मेडीकल काउन्सीलको परीक्षा पास गरेर पहिलोपटक जागिर गर्न दुर्गम गाउँमा पुगेकी हुन्। उनले दैनिक ४० जना भन्दा बढी बिरामीको उपचार गरिरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिनोद गैरेले बताए।
डा जस्मीता आएपछि वर्षौदेखि रोग लुकाउदै आएका महिलाहरुले पहिलोपटक खुलेर उपचार सेवा पाएका छन्। यस्तै पैसा नभएर उपचारका लागि जिल्ला बाहिर जान नसकेकाले समेत गाउँमै सेवा पाएको गाउँपालिकाका रोजगार संयोजक लक्ष्मण जोशीले बताए।
 
    
  सेवा गर्नुपर्छ भन्ने भावनाले दुर्गममा सेवा दिन आएको बताउने डा. जस्मीताले धेरैजसो पेट दुुखेका बिरामी, पाठेघर सम्बन्धी समस्या  भएका, चिलाउने, दम तथा छाला सम्बन्धीका बिरामी आउने गरेको बताइन। 
 
‘यहाँका महिलाहरुले सुरुमा रोग लुकाउने गरेका छन् तर बिस्तारै परामर्श दिदै जाँदा समस्याका बारेमा खुुल्ने गरेका छन्’ उनले भने। दैनिक पाठेघर सम्बन्धी बिरामी, सेतो पानी बग्ने जस्ता समस्या लिएर १५ देखि २० जना महिलाहरु आउने गरेको उनले बताइन।  
उपचारसँगै परामर्श दिँदा अहिलेसम्म आउने बिरामी सन्तृष्ट भएर गएको उनले बताइन। ‘धेरै बिरामी सञ्चो भएर खुशी भएर जान्छन्, त्यही नै मेरो कमाइ र सम्पत्ति हो’ उनले भनिन्।
कैलालीको गोदावरी नगरपालिका–१ अत्तरिया घर भएकी जस्मीताले लुम्बिनी मेडिकल कलेज पाल्पाबाट एमबीबीएस गरेर गत कार्तिक १ गते मेडिकल काउन्सीलको परीक्षा पास गरेकी हुन्। पास हुने बित्तिकै पहिलो सेवा गर्ने इच्छा अनुरुप जगन्नाथ पुगेको उनले बताइन।
 
								
 
        
        
       
        
        
       
        
        
       
        
        
       
        
        
       
        
        
       
        
        
       
        
        
       
        
        
      