सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिम सरकारको ३ वर्षे प्रगति पुस्तिकामा झूठा विवरण समावेश भएको खुलासा

२०७७ फाल्गुन २२, ०७:०८ रोशन भट्ट

धनगढीः सुदूरपश्चिम प्रदेश सरकारले आफ्नो ३ वर्षे कार्य प्रगति पुस्तिकामा झूठा विवरण समावेश भएको भेटिएको छ। यही फागुन ५ गते प्रदेश सरकार स्थापना भएको ३ वर्षको अवसरमा सार्वजनिक गरिएको पुस्तकमा झूठा विवरणहरु समावेश गरिएको खुलेको हो।

प्रदेश सरकारले सो पुस्तकमा आफ्नो प्रमुख उपलब्धिहरुमा संघीय सरकारले गरेका कामहरु पनि समावेश गरेको छ। संघीय सरकारको १६ करोड ३६ लाख लगानीमा निर्माण भएको प्रादेशिक आयुर्वेदिक अस्पताललाई सुदूरपश्चिम प्रदेश सरकारले आफुले बनाएको भन्दै झूठा प्रचार गरेको छ।

प्रत्येक प्रदेशमा विशेषज्ञ सेवासहितको एक आयुर्वेदिक अस्पताल सञ्चालन गर्ने संघीय स्वास्थ्य मन्त्रालयको अवधारण अनुसार धनगढीमा पनि ५० शैयाको अस्पताल भवन निर्माण भएको छ। तर हालसम्म सञ्चालनमा आएको छैन।

संघीय सरकार मातहत रहेको सहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन इकाई धनगढीले निर्माण गर्ने गरि २०७४ सालको पुसमा सम्झौता भएको थियो।

तर २०७४ सालको फागुनमा मात्रै स्थापना भएको प्रदेश सरकारले आफ्नो ३ वर्षको प्रगतिमा उल्लेख गरिएको छ–‘५० शैयाको प्रादेशिक आयुर्वेदिक अस्पतालको भवन निर्माण कार्य अन्तिम चरणमा रहेकोमा उक्त भवन निर्माण सम्पन्न हुनासाथ सेती आयुर्वेद औषधालयलाई समेत गाभेर अस्पताल सञ्चालनमा ल्याउने तयारी भइरहेको छ।’

सुदूरपश्चिम प्रदेशमा आयुर्वेदको अस्पताल नरहेका बेला विशेषज्ञ सेवा दिने उद्देश्य राखिएको उक्त प्रादेशिक आयुर्वेदिक अस्पतालमा १३ जना विशेषज्ञ डाक्टहरुले स्वास्थ्य सेवा दिनेछन् भने यसले सुदूरपश्चिम प्रदेशका विरामीहरु आयुर्वेदिक चिकित्सामार्फत उपचार सेवा पाउने विश्वास लिइएको छ। 

तर सुदूरपश्चिम प्रदेश सरकारले भने धनगढी उप–महानगरपालिकाको वडा नम्वर १३ राजपुरमा निर्माण भइरहेको सो अस्पताल आफु्ले निर्माण गरेको भन्दै झूठ प्रचार गरेको छ।

प्रदेशको सामाजिक विकास मन्त्रालयले भने संघीय सरकारले निर्माण गरेपनि प्रदेश सरकारलाई नै हस्तान्तरण हुने दावी गरेको छ।

अहिलेको सेती आयुर्वेद औषधालयलाई समेत गाभेर अस्पताल सञ्चालन गर्ने बताइएको छ। यो सँगै प्रदेश सरकारले आफ्नो ३ वर्षे प्रमुख उपलब्धिमा संघीय सरकारले गरेका कामहरु उल्लेख गरेर जस लिन खोजेको स्पष्ट देखिन्छ।
 

रोशन भट्ट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस