सामाजिक सञ्जालको गलत प्रयोगले अपराध बढ्यो, ८० प्रतिशत अपराध आफन्तबाटै: डीआइजी सुवेदी
दार्चुला: सुदूरपश्चिम प्रहरी प्रमुख उत्तमराज सुवेदीले पछिल्लो समय सामाजिक सञ्जालको गलत प्रयोगले अपराधका घट्नामा वृद्धि भइरहेको बताएका छन्।
बिहीबार समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत दार्चुलाका सरोकारवालाहरुसँगको अन्तरक्रिया कार्यक्रममा प्रहरी नायव महानिरीक्षक(डीआइजी) सुवेदीले सामाजिक सञ्जालको गलत प्रयोगका कारण अपराधका घटना हरेकदिन बढ्दै गएको बताएका हुन।
डीआइजी सुवेदीले सामाजिक सञ्जालको प्रयोगमा अभिभावकहरु सचेत बन्नुपर्ने सुझाव दिएका छन्। ‘अधिकांश अभिभावकहरुले छोराछोरी के गर्दैछन् भन्ने कुराको ख्याल नगर्दा समाजिक सञ्जालको दुरुपयोग बढीरहेको छ’ उनले भने, ‘फेसबुकबाट सुुरु भएको प्रेम कहानीले आत्महत्या गर्न बाध्य भएका कयौं घट्नाहरु देखिएका छन्। तसर्थ अभिभावकले छोराछोरीलाई मोबाइल प्रयोग गर्न दिँदा सवाधानी अपनाउनुपर्ने हुन्छ।’
यस्तै उनले हत्या, हिंसा, बालात्कारजन्य जघन्य अपराधका ८० प्रतिशत घटनामा नजिकका आफन्तको संलग्नता रहने गरेको बताएका छन्। आफुले अनुसन्धान गरेका ५ सय हत्याका घटनामध्ये सबैभन्दा बढी १५३ घटनामा श्रीमानले श्रीमतीको हत्या गरेको पाइएको प्रहरी डीआइजी सुवेदीले बताए।
यस्तै श्रीमतीले श्रीमानको हत्या गरेका घटना ३२ वटा, दाईभाई र बुवाछोराबीच ५० बढी हत्याका घटना घटेको पाइएको उनले बताए। यस्तै उनले मदिराका कारण अपराधका अधिकांश घटना घट्ने गरेको बताएका छन्।
डीआइजी सुवेदीले समाजमा अपराध नियन्त्रणको लागि सबै क्षेत्रको साझेदारी र सहकार्य अपरिहार्य रहेको बताए। ‘यो एकल क्षेत्रले गरेर नियन्त्रण गर्न सकिँदैन। सबै क्षेत्रको सहकार्यले अपराध नियन्त्रण सम्भव छ’ उनले भने।