सुदूर नेपाललाई विश्वसँग जोड्दै

भागरथी हत्या प्रकरणः अभियुक्तमाथि अनुसन्धान गर्न अदालतले थप ५ दिन दियो

२०७७ फाल्गुन १६, ०७:४४ खबर संवाददाता

धनगढीः बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्ट हत्याका अभियुक्तमाथि अनुसन्धान गर्न प्रहरीले थप ५ दिन म्याद पाएको छ।

अनुसन्धानका लागि पहिलो र दोस्रो गरि १० दिन म्याद पाएको प्रहरीले तेस्रो पटक ५ दिन म्याद पाएको हो। 

जिल्ला प्रहरी कार्यालय बैतडीले अभियुक्त मृतकका भाइ नाता समेत पर्ने दिनेश भट्टमाथि अनुसन्धान गर्न अदालतले ५ दिन थपेको जनाएको छ। 

बलात्कारपछि हत्या गरेको अभियोगमा गत फागुन ४ गते पक्राउ परेका भट्ट विरुद्ध भागरथीका दाजु केशव भट्टले कर्तव्य ज्यान र बलात्कारसम्बन्धी कसुरमा कारबाहीका लागि जाहेरी दर्ता गरेका थिए।

दिनेश नाबालक भएकाले २१ दिनभित्र प्रहरीले अनुसन्धान सकेर अदालतमा पेश गर्नुपर्ने कानूनी व्यवस्था रहेको छ। 

गत माघ २१ गते दोगडाकेदार गाउँपालिकाको स्थानीय सनातन धर्म माध्यमिक विद्यालयबाट घर फर्किने बेला बेपत्ता भएकी भागरथी बलात्कारपछि हत्या गरेको अवस्थामा लवलेक सामुदायिक वनमा शव फेला परेको थियो।

दिनेशको शंकास्पद गतिविधि, प्राविधिक पक्षको विश्लेषण, लोकेसन, प्रत्यक्षदर्शी र साबिती बयानका आधारमा सार्वजनिक गरिएको प्रहरीले बताएको थियो।  

पक्राउ परेका उनले प्रहरीलाई दिएको बयानमा आफूले हत्या गरेको स्वीकार गरेका छन्। भने, सरकारी वकिल कार्यालयले लिएको बयानमा बलात्कारपछि आफैले गरेको स्वीकारेको प्रहरीले बताएको छ।

भागरथीको बलात्कारपछि हत्या भएको १७ औँ दिन फागुन ७ गते महाकाली नदीको शेरा आर्यघाटमा अन्तिम संस्कार गरिएको थियो। 
 

कमेन्ट लोड गर्नुस