सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुध्रिदै गएको सेती प्रादेशिक अस्पतालमा फेरि लापरवाही बढेको गुनासो

फाईल फोटो
फाईल फोटो
२०७७ फाल्गुन १५, ०७:२६ रोशन भट्ट

धनगढीः बुधबार विहान ४ बजेतिर धनगढी उप–महानगरपालिका–१ की ५० वर्षीया डम्मरा दाहाललाइ स्वास्थ्यमा समस्या देखिएपछि परिवारका सदस्यले उपचारका लागि सेती प्रादेशिक अस्पताल लगे। 

अत्यधिक पेट दुख्ने समस्याका कारण अस्पतलाल पुगेकी दाहाललाइ सुरुवातमा आकस्मिक वार्डमा भर्ना गरियो। तर अस्पतालका डाक्टर र नर्सिङ कर्मचारीले वेवास्ता गर्दा थप समस्या भोग्नुपरेको गुनासो परिवारको छ। 

‘विहान ४ बजे नै आमालाई अस्पताल पुगाउदा पनि सुरुमा त्यहाँका नर्सहरुले कुनै वास्ता गरेनन्,’ दाहालकी छोरी आरतीले दिनेशखबरसँग गुनासो गर्दै भनिन्, ‘डाक्टरलाई बोलाइदिनु भन्दा सुने नसुनेझै गरे, साँझसम्म पनि डाक्टर नआएपछि आमालाई बाध्य भएर निजी अस्पताल लैजानु पर्यो।’

प्रादेशिक अस्पतालमा कार्यरत अधिकांश चिकित्सकहरु निजी अस्पतालमा पनि काम गर्दै आएका छन्। निजी अस्पतालसँगकै मिलेमतोका कारण सेती प्रादेशिक अस्पतालमा काम गर्ने चिकित्सकहरुले विरामीलाइ वेवास्ता गरेर निजीमा पठाउने गरेको आरोप लागेको छ भने कतिपय अवस्थामा विरामीलाई निजी अस्पताल लैजानैपर्ने बाध्यता सिर्जना गरिदिने गरेको गुनासो पनि बिरामी तथा कुरुवाहरुको छ। 

निजी अस्पतालमा गएर काम गर्ने भएकै कारण सेतीमा डाक्टरले कम समय दिने, वेड खाली छैन भन्ने गरेका गुनासाहरु सुनिन थालेका छन्। कतिसम्म कि कतिपय चिकित्सकले निजी अस्पतालको नामै किटान गरेर बिरामीलाई त्यहाँ लैजान सुझाउने गरेको दाबी पनि गरिएको छ। 

तर निजी अस्पतालहरुले भने सरकारी अस्पतालमा काम गर्ने डाक्टरहरुको भरमा मात्रै आफ्ना अस्पताल नचलेको प्रतिक्रिया दिएका छन्। 

‘धनगढीमा खुलेका सबै निजी अस्पतालसँग आफ्नै डाक्टरहरु छन्,’ निजी अस्पताल संघ सुदूरपश्चिमका सचिव  तिर्थ पन्तले दिनेशखबरसँग भने, ‘पूर्णकालीन सेवाका डाक्टर नभए हाम्रा अस्पताल नै सञ्चालन गर्न सकिदैन्। आशिंक काम गर्ने डाक्टरले बाहिर सुनिएका जस्ता काम गर्ने कुरै हुदैन्।’

सेती प्रादेशिक अस्पतालले विगतमा पनि सेवा प्रवाहमा लापरवाही गरेको गुनासो निकै भोग्नुपरेको थियो। तर डाक्टर हेमराज पाण्डे मेडिकल सुपरीटेन्डेन्ट भएर आएपछि सेवा सुधारसँगै विगतको जस्तो लापरवाही कम भएको स्वयंम सेवाग्राही बताउन थालेका थिए। 

अहिले फेरि सेवा प्रवाहमा लापरवाही गरिरहेको आरोप अस्पतालका डाक्टर र नर्सिङ कर्मचारीमाथि लागेको छ। अस्पताल व्यवस्थापन समितिले भने चिकित्सक र निर्सहरुप्रति सेवाग्राहीले गरेका गुनासाका विषयमा अनभिज्ञता प्रकट गरेको छ। 

‘अस्पतालमा लापरवाही भएको विषयमा हामीलाइ थाहा छैन,’ व्यवस्थापन समितिका सदस्य तेजबहादुर रावलले भने, ‘अब बुझेर सेवा प्रवाहलाइ प्रभावकारी बनाउछौं।’
 

रोशन भट्ट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस